बस्ती केन्द्रित बन्यो निर्वाचन गतिविधि
कपन अनलाइन
डडेल्धुरा, ३ असार । स्थानीय तहको दोस्रोचरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा निर्वाचनको चहलपहल सहरका भन्दा गाउँमा बढी केन्द्रित बनिरहेको छ । डडेल्धुराका राजनीतिक दल जिल्ला सदरमुकाम भन्दा पनि गाउँगाउँमा घरदैलो अभियानका साथै प्रचारप्रसारलाई तीव्रता दिएसँगै निर्वाचनको चहलपहल बढेको हो ।
आ–आफ्नो पक्षमा मतपरिणाम पार्नका लागि यहाँका राजनीतिक दल पर्चा पम्पलेटिङ, प्रतिबद्धता पत्र वितरणदेखि यातायातका सवारी साधनमा माइकिङको प्रयोग गर्दै घरदैलो अभियानमा व्यस्त रहेका छन् । डडेल्धुरामा प्रतिस्पर्धा गर्ने १३ राजनीतिक दलमध्ये अधिकांश दलले आफ्नो उपस्थिति देखाउनका लागि भन्दै घरदेखि सडक चोकमा पार्टीको झन्डा र चुनाव चिन्ह राखेका छन् ।
दलहरुले जिल्ला सदरमुकामदेखि गाउँका चोकचोकमा आ–आफ्ना पार्टीका चुनाव चिन्ह लगाएर झकिझकाउ बनाएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा विषेश गरेर नेपाली काँग्रेस, नेकपा (माओवादी, केन्द्र) नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको भए पनि अन्य साना दल पनि आफ्नो पक्षमा मतपरिणाम पार्नका लागि बस्ती÷बस्तीमा पुगेर प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन थालेकाले स्थानीय बासिन्दा पनि मतदान गर्नका लागि आतूर भएका छन् । चुनावी चहलपहल बढेसँगै डडेल्धुरामा सुरक्षा निकायले पनि आफ्नो सक्रियतालाई बढाएको छ । रासस