शिक्षकको अनुदान रोकिँदा पढाइ प्रभावित

कपन अनलाइन 

जाजरकोट, २६ जेठ । प्रतिविद्यार्थी अनुदान रकम (पिसिएफ) कटौती हुँदा जिल्लाका करिव २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयहरुले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो । शैक्षिक सत्र ०७३÷७४ मा जाजरकोटका २२७ विद्यालयका २५० शिक्षकका लागि उक्त रकम निकासा भएको छैन ।

शिक्षा विभागले चालु वर्षमा २७ माध्यमिक, १४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको छ । स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान कटौती हुँदा समस्या भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।

पिसिएफ रकम निकासा नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको भगवती मावि कुदुका प्रधानाध्यापक प्रताप रोकाय बताउनुहुन्छ । पिसिएफकै भर विद्यालयले ९ र १० कक्षाको पठनपाठन चलाउँदै आएकामा उक्त अनुदान निकासा नभएपछि समस्या भएको प्रअ रोकायले बताउनुभयो । “विद्यालयमा गणित, अङ्ग्रेजी, विज्ञानलगायत विषय नै पढाउने शिक्षक छैनन,” उहाँले भन्नुभयो ।

“शिक्षाबाट गत आवसम्म पिसिएफ शीर्षकमा रु तीन लाख निकासा आउँथ्यो । त्यही रकमले मावि तहको पठनपाठन सञ्चालन गर्ने शिक्षक राखेका थियौँ”, उहाँले भन्नुभयो । विभागले प्राविदेखि मावि तहका प्रतिविद्यालयलाई ५० हजारदेखि तीन लाखसम्म उक्त अनुदान निकासा दिँदै आएको थियो ।

गत आव पिसिएफ शीर्षकमा दुई करोड ४४ लाख निकासा आएकामा चालु वर्षमा शून्य भएको सिंहले बताउनुभयो । जाजरकोटमा मावि, निमावि र प्रावि तहका ४३५ विद्यालयमा ७०० शिक्षक दरबन्दी नपुग रहेको शिक्षा कार्यालयले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।