किरात राईको उभौली पर्व सम्पन्न
कपन अनलाइन
भोजपुर, १४ जेठ । किरात राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा पर्व शनिबारबाट यहाँ सम्पन्न भएको छ । पर्वको अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टुँडिखेललगायत विभिन्न साकेवा थानमा साकेला सिली नाचिएको किरात राई यायोक्खाका अध्यक्ष पाविहाङ राईले बताउनुभयो ।
चण्डी पूर्णिमादेखि सुरु हुने यो पर्व १५ दिनसम्म पितृ तथा भूमिको पूजाआजा गरी मनाउने प्रचलन रहिआएको छ ।
किरातीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकिसकेपश्चात् बाली भित्र्याउँदै मङ्सिरे पूर्णिमामा उधौली मनाउने गरेका छन् ।
परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टाको तालमा साकेन्वा सिली नाच्ने गरिन्छ । उभौलीमा विशेष गरेर बालीनालीमा रोग नलागोस्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस्, पारुहाङ र सुम्निमाले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरुन् भन्ने कामनासहित मनाइने अध्यक्ष राईको भनाइ छ । रासस