सत्तरी वटा विद्यालयमा पुस्तकालय

कपन अनलाइन 

इलाम, ९ जेठ । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् । पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ । प्लस टु सञ्चालन भएका विद्यालयमा चालु आवमै पुस्तकालय सञ्चालन गर्ने गरी विद्यालयसँग सम्झौता गरेर काम थालिसकेको जिशिकाले जनाएको छ ।

कतिपय विद्यालयले पुस्तकालय स्थापनाका लागि पूर्वाधार तयार गरिसकेका छन् भने केहीले पूर्वाधार निर्माणको काम अघि बढाइसकेको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताउनुभयो ।

जिशिअ गौतमका अनुसार ७० विद्यालयमध्ये ४० वटा विद्यालयमा रु छ लाख ५० हजारका दरले पुस्तकालय निर्माणका लागि र ३० वटा विद्यालयमा पुस्तकालय तथा ल्याब सामग्री खरिदका लागि रु एक लाख ५० हजारका दरले रकम दिइनेछ ।

रोङ गाउँपालिकाको कोल्बुङस्थित शान्ति निकेतन मावि र सूर्योदय नगरपालिकाको लक्ष्मीपुरस्थित ज्योति माविमा निर्माणाधीन पुस्तकालय नमुना रहेको भन्दै ती विद्यालयको सिको गर्न अन्य विद्यालयलाई जिशिअ गौतमले आग्रहसमेत गर्नुभएको छ ।

पुस्तकालय निर्माण गर्न शिक्षा कार्यालयसँग भएको सम्झौताअनुसारको मापदण्ड पूरा नगर्ने विद्यालयको थप रकम निकासा नहुने र निकासा भएको रकमसमेत तेस्रो चौमासिक निकासाबाट कट्टा हुने पनि जिशिअ गौतमले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।