चित्रकला प्रदर्शनी
कपन अनलाइन
काठमाडौँ, ८ जेठ । चित्रकला र मूर्तिकलाको धनी भइकन पनि कलाकारले आफ्नो कला निखार्ने सिर्जनशील सीपलाई जीवन्त पेसाको रुपमा विकास गर्ने वातावरण अझै विकास भएको छैन् ।
नेवार समुदायले परापूर्वकाल देखि नै थाङ्कासहित विभिन्न देवदेवीको चित्र बनाएर देशको कला प्रस्फुटनमा प्रचूर योगदान पु¥याएको भए पनि चित्रकलामा संलग्न कलाकारले आफ्नो कला निखार्न अन्य पेसाको पनि सहयोग लिनुपर्ने बाध्यता रहेको विन आर्ट इभेन्ट नेपालका संयोजक तथा वरिष्ठ कलाकार रिता मानन्धरले बताउनुभयो ।
सयौँ वर्षअघि तयार भएका बुद्घका आकर्षक चित्र, चक्रसम्वर, सहश्रभूजा, लोकेश्वर, विभिन्न हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित देवीदेवता तथा भगवान् बुद्ध लुम्बिनी आएको जस्ता चित्र, थाङ्का नेवार समुदायको घरघरमा आज पनि सजाइएको देख्न पाइन्छ ।
झन्डै दुई दशकदेखि चित्र सिर्जनामा लागिरहुनभएका कलाकार मानन्धर नेवारी संस्कृति, चाडपर्व जस्ता चित्र कोरेर आफ्नो सीपलाई तिखार्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “ चित्रकलाको माध्यमबाट मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सकिने भएकाले यस क्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्छ ।”
उहाँले “नेपाली चित्रकारीतामा यथार्थवादी र अमूर्त चित्रकला पाइन्छ, चित्रकारले आफ्नो छुट्टै दृष्टिकोण राखी चित्र तयार पारेको भए पनि दर्शक आफूले आफ्नो दृष्टिकोणअनुसार व्याख्या गर्न सकिने चित्र नै अमूर्त चित्र हो भन्नुभयो ।”
विन आर्ट इभेन्ट नेपालका निर्देशक तथा कलाकार नगेन्द्रप्रसाद पौडेलले नेपाल, भारत तथा बङ्गलादेश परम्परागत कलाकारिता क्षेत्रमा सदियौँदेखि उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएको बताउँदै यी तीन वटै देशका कलाकारबीच सीप र अनुभव सटासाट गर्नाले यस क्षेत्रको विकासमा ठूलो योग्दान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बङ्गलादेशका कलाकार प्रा फरिदा जामनले विश्वस्तरीय विधा तथा बङ्गलादेशको संस्कृतिलाई केन्द्रित गरी आफूले चित्र कोर्दै आएको बताउनुभयो ।
झन्डै ३९ वर्षदेखि चित्रकलामा अभ्यस्त जामनले हालसम्म काठमाडौँमा तीन पटक चित्रकला प्रदर्शनी गरिसक्नु भएको छ । बाह्र वर्षदेखि चित्रकालामा व्यस्त ललितपुर चापागाउँका वरिष्ठ कलाकार सुरेन देसारले नेपालमा चित्रकलाको सम्भाव्यता अत्यधिक रहेकाले यस क्षेत्रको विकासका लागि राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले हाल कलाकारले चित्र कोर्दा आफ्नो दैनिक जीवनका लागि छुट्टै पेसा अँगाल्नु परिरहेको गुनासो गर्नुभयो ।
नेपाल कला परिषद्को ग्यालरीमा आइतबारदेखि सञ्चालन भएको ‘विन आर्ट इभेन्ट नेपाल २०१७’ चित्रकला प्रदर्शनीमा बङ्गलादेशका १३, नेपालका १६ तथा भारतका एक जना कलाकारको ७२ चित्र राखिएका छन् । रासस