छिमेकीको समृद्विबाट लाभ लिन सक्नुपर्छः परराष्ट्रमन्त्री डा महत
कपन अनलाइन
काठमाडौँ, ५ जेठ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र चासोलाई केन्द्रविन्दुमा राखी भारत र चीन जस्ता दुई ठूला छिमेकीबाट के– कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा वर्तमान सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
नेपालको परराष्ट्र सेवामा रहेर राजदूत भई सेवानिवृत्त भएकाको संस्था ‘एसोसिएसन अफ फर्मर क्यारियर राजदूत अफ नेपाल’ द्वारा आज मन्त्रालयमा आयोजित अन्तक्र्रियामा उहाँले विगतदेखि नै परराष्ट्र नीतिलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्दा छिमेकीको समृद्धिबाट लाभान्वित हुन नसकिएको बताउनुभयो ।
परराष्ट्रमन्त्री डा महतले सडक सञ्जाल, व्यापार प्रवद्र्धन र वैदेशिक लगानीजस्ता क्षेत्रमा नेपालले छिमेकीको समृद्धिबाट फाइदा लिनुपर्ने उल्लेख गर्दै चीनको ओबिओआर आयोजनामा गरेको हस्ताक्षरले नेपालको आर्थिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बाहिर जे जस्ता हिसाबले टिकाटिप्पणी आए पनि नेपालले गम्भीर रुपमा गृहकार्य गरी चीनको ओबिओआर आयोजनामा हस्ताक्षर गरेको र यो कार्य नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताअनुरुप भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
आफू परराष्ट्रमन्त्री भएपछि भारतसँगको सम्बन्ध सुधारका साथै विभिन्न सन्धि र सम्झौतामा नेपालले पाउनुपर्ने सुविधा र सहुलियतका बारेमा कैयौंपटक कूटनीतिक टेबलमा कुरा राखेको र कैयौं काम भएका पनि छन् तर त्यस्ता सकारात्मक प्रयास भन्दा सडकमा गरिने विरोधले चर्चा पाउने गरेको उहाँले बताउनुभयो ।
मन्त्री डा महतले “हाम्रो हतियार भनेको कूटनीतिक टेबलमा बसेर वार्ताको माध्यमबाट हाम्रो कुरालाई माथि पार्न सक्नु नै हो, यस कार्यमा हामी सफल भएका छौँ” भन्दै “चीनसँगको ओबिओरमा हस्ताक्षर र भारतसँग नेपालले पाउनुपर्ने सुविधाका साथै सम्बन्ध विकासका क्षेत्रमा गरिएका प्रयासले नेपाललाई आगामी दिनमा पनि यस क्षेत्रमा ठूलो र दुरगामी फाइदा पुग्ने बताउनुभयो ।”
राज्य र राष्ट्रिय स्वार्थ अनुकूलको परराष्ट्र नीति परिमार्जनका लागि थालिएको प्रयास, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनको पुनःसंरचना गरी एक सशक्त ‘थिङ्क ट्याक’का रुपमा विकसित गर्न गरिएको प्रयास, राजदूतलाई पहिलो पटक कार्यतालिका बमोजिम काम गर्नुपर्नेगरी तोकिएको जिम्मेवारी र परराष्ट्र एवम् संसारमा रहेका नेपालका नियोगलाई पनि तोकिएको कार्य सम्पादन गर्नुपर्नेगरी तोकिएको वार्षिक कार्यतालिका जस्ता कैयौं सुधारका कार्य पछिल्लो समयमा गरिएको उहाँले जानकारी गराउनुभयो ।
मन्त्री डा महतले सरकार नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र स्वार्थका आधारमा समयानुकूल र सर्वस्वीकृत रुपमा परिमार्जन गर्न लागेकोले त्यसमा सहयोगका लागि पूर्व राजदूतलाई आग्रह गर्दै विभिन्न देशमा नेपालको राजदूतभएर गरेको कार्यबाट आर्जन गरेका ज्ञान र अनुभवलाई नेपालको कूटनीतिक क्षेत्रको विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा परराष्ट्र सचिव शङ्करदास बैरागीले पछिल्लो समयमा नेपालको कूटनीतिक क्षेत्रमा भएका उपब्धिका बारेमा प्रकाश पार्दै पूर्व राजदूतको अनुभव र ज्ञानबाट मुलुकले के कसरी लाभलिन सकिन्छ भन्ने रणनीति मन्त्रालयले बनाएको जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व राजदूतले जुनसुकै सरकार आए पनि परिवर्तन नहुने र राष्ट्रिय सहमतिको एक सवल दस्ताबेजका रुपमा रहने खालको परराष्ट्र नीति हुनुपर्ने सुझाव दिनुभएको थियो । रासस