श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने
कपन अनलाइन
(विशेष प्रतिनिधि शीतलप्रसाद महतो)
क्यान्डीे (श्रीलङ्का), १ जेठ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताउनुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी आवासमा चियापान आयोजना गर्नुभएको समारोहमा राष्ट्रपति श्रीसेनाले सो वचन दिनुभएको हो ।
यसअघि राष्ट्रपति भण्डारीको स्वागत गर्दै श्रीलङ्काका राष्ट्रपति श्रीसेनाले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा अझ व्यापक र प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले दुवै देशमा दिगो आर्थिक विकासका लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रपति श्रीसेनालाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभएको थियो ।
समारोहमा श्रीलङ्काका न्याय तथा बुद्ध शासनमन्त्री डा विजेयादास राजपक्ष, साना उद्योगमन्त्री दया गामागे र वैदेशिक रोजगारमन्त्री तालता अतुकोरल, उपविदेशमन्त्री डा हर्ष डेसिल्भा र केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेलगायत उच्चपदस्थ सरकारी अधिकारीको सहभागिता थियो ।
त्यस्तै सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारीलगायत भ्रमण टोलीका सदस्यको सहभागिता थियो ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेले उपहारस्वरुप चाँदीका कलात्मक सामग्री प्रदान गर्नुभयो । त्यसपछि राष्ट्रपति भण्डारी क्यान्डीबाट श्रीलङ्काली वायुसेनाको हेलिकप्टरबाट कोलम्बो आइपुग्नुभएको छ । रासस