बैद्य पक्षलाई ११ प्रदेश मा आप्पत्ति

११ देखि १४ सम्म आन्दोलित हुने

२ जेठ, काठमाडौं । माओवादीको मोहन बैद्य किरण पक्षले ११ प्रदेश बनाउने दलहरुको सहमतिप्रति आप्पत्ति जनाएको छ । बैद्य पक्षले दबावमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ-स्थायी समितिको औपचारिक बैठक नै नबोलाई तथा हाम्रो बिचार समूहलाई सहभागी नै नबनाई अध्यक्ष प्रचण्ड र बाबुराम बिचारसमूहद्वारा स्थायी समितिको नाममा संविधानसंग सम्बन्धित विभिन्न विषयमा निर्णय लिइएको र संविधानका विभिन्न विषयहरुमा तीन दल वा चार पक्षहरुकाबीच सहमति भएकोमा हाम्रो पूर्ण असहमति र गम्भीर आप्पत्ति रहेको छ ।’

बैद्य पक्षले राज्य पुनःसंरचना सम्बन्धी विषयगत समिति एवम् आयोगद्वारा प्रस्तुत सिद्धान्त र १४ प्रदेशको संरचना नै सही तथा वैज्ञानिक रहेको बताएको छ । विषयगत समिति, राज्य पुनःसंरचना समिति र आयोगद्वारा प्रस्तुत प्रतिवेदनहरुलाई लत्याई संविधानसभाको गरिमा तथा जनादेशकोे अपमान गर्ने र जनताबीचको जातीय सद्भाव विथोल्ने गम्भीर कसरत भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

बैद्य पक्षले जेठ ११ गते देखि १४ गतेसम्म काठमाण्डौ लगायत देशव्यापीरुपमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ । यस्तै आफ्नै पहलमा गठन गरिएको जनआन्दोलन संघर्ष समितिसहित बृहत मधेसी मोर्चा र आदिवासी-जनजाति संघर्ष समितिले घोषणा गरेको कार्यक्रमहरुप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ ।

यस्तै आदिवासी जनजाति महासंघले पनि दलहरुबीच भएको सहमतिप्रति आप्पत्ति जनाएको छ । दलहरुबीच भएको सहमति संघीयतामा जाँदै नजाने कपटपूर्ण प्रपन्च भन्दै महासंघले भनेको छ-’प्रदेशहरुको नामांकन र सीमांकन अहिले नगरि पछि निर्णय गर्ने गरी संविधान बनाउन खोज्नु सारसर ठगी र घोर बेइमानी हो ।’ महासंघले पूर्व घोषित आन्दोलन कार्यक्रमहरु जारी राख्ने समेत बताएको छ ।

तपाइँको प्रतिक्रिया ।