उपत्यकामा ट्वान्टी–२० क्रिकेट शुरु
९ पुस, काठमाडौ । हिजोबाट काठमाडौं उपत्यकामा ट्वान्टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । आजको खेलमा सशस्त्र प्रहरी बल एपीएफ, क्षेत्र नम्बर १ विराटनगर, क्षेत्र नम्बर ५ नेपालगञ्ज र क्षेत्र नम्बर ६ बैतडी विजयी भएका छन् । गत शुक्रबार सम्पन्न राष्ट्रिय क्रिकेटको फाइनलमा क्षेत्र नम्बर ४ भैरहवालाई हराएर उपाधि चुमेको एपीएफले आज सोही टोलीलाई कीर्तिपुर मैदानमा ८ विकेटले निराश पा-यो ।
सोही मैदानमा भएको अर्को खेलमा बिराटनगरले क्षेत्र नम्बर २ वीरगञ्जलाई ५ विकेटले हरायो । यसैगरी, पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा क्षेत्र नम्बर ७ जनकपुरलाई नेपालगञ्जले २३ रनले हराउँदा सोही मैदानमा बैतडीले क्षेत्र नम्बर ८ पोखरालाई ६ विकेटले निराश पा-यो ।
भैरहवाले ९ विकेटको नोक्सानीमा १ सय ९ रन बनाएको थियो । जवाफमा १ सय १० रनको लक्ष्य पछ्याएको एपीएफले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य हासिल ग-यो ।
यसैगरी, वीरगञ्जलले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य विराटनगरले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर हात पा-यो ।
उता, इन्जिनियरिङ मैदानमा नेपालगञ्जले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित ओभरको समाप्तीमा ९ विकेटको नोक्सानीमा मात्र १ सय ४१ रन बनाएपछि नतिजा नेपालगञ्जको पक्षमा गएको हो ।
सोही मैदानमा पोखराले प्रस्तुत गरेको १ सय १९ रनको लक्ष्य बैतडीले १६ ओभर २ बलमा ४ विकेट गुमाएर हात पारेको हो ।