बनेपामा प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु
कपन अनलाइन
बनेपा, २७ वैशाख । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा आजदेखि सुरु भएको छ । संस्कृतविद् ज्ञानकाजी मान्नधरले चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको बताउनुभयो ।
वंशावलीअनुसार सत्ययुगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको जानकारी दिनुभयो । संस्कृतविद् मानन्धरले नेपाल संवत्को सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भएको जानकारी दिँदै स्थानअनुसार फरक फरकरुपमा काभ्रेपलाञ्चोकमा जात्रा गर्ने प्रचलन रहेको बताउनुभयो ।
जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ । साहित्यकार तथा काभ्रेपलाञ्चोकका अग्रज पत्रकार मोहन दुवालले चण्डेश्वरी मन्दिर लिच्छवीकालीन मन्दिर भएको उल्लेख गर्दै काठमाडौँको नरदेवी र बूढानीलकण्ठमा समेत चण्डेश्वरीको जात्रा हुने जानकारी दिनुभयो ।
जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिने दुवालले बताउनुभयो । जात्राका लागि बनेपा नगरपालिकाले कुल रु आठ लाख ८५ हजार खर्च हुने अनुमान गरेको र रु १२ लाख जात्रालगायतका अन्य विभिन्न चाडपर्वमा खर्च हुने बनेपा नगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर वैद्यले जानकारी दिनुभयो ।
बनेपा नगरपालिकाले छुट्याएको सो बजेट भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजालगायत संस्कृति संरक्षणमा खर्च हुने उहाँले बताउनुभयो । उहाँले जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रुपमा र सनही बाजा र धिमे बाजासमेत जात्रामा बजाइन्छ भन्नुभयो ।
जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ । वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजा समेत गरिने प्रचलन छ । रासस