कृषि वन विकास कार्यक्रम सुरु

कपन अनलाइन, झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ । कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र कृषि वनका लागि छनोट भएका छन् । (फाइल फोटो)

पकेट क्षेत्रमा आबद्ध कृषि सहकारी र समूहका कृषकलाई विभिन्न बालीसँगै वनको विकास गराउन कार्यक्रम लक्षित रहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए। कृषि बालीलाई नोक्सान नगर्ने गरी कृषि बालीको बीच–बीचमा बोटबिरुवा लगाउने उद्देश्यले सो कार्यक्रम लागू भएको हो । वन कार्यालयले कृषकलाई अगर, रुद्राक्ष, रबर, केरा, कटहर, लिची, आँपलगायतका बिरुवा निःशुल्क उपलब्ध गराउने सहायक वन अधिकृत उप्रेतीले बताए । कृषि वनका लागि चालू आव २०७३/७४ का लागि रु ८७ लाख केन्द्रबाट प्राप्त भएको छ ।

सो कार्यक्रमअन्तर्गत वन कार्यालय, भू–संरक्षण, जिल्ला सिँचाइलगायतका कार्यालयले आ–आफ्ना कार्यक्रम लागू गर्नेछन् । खाली भएको जमिनमा रुखका बिरुवा लगाउने, वन लगाएको स्थानमा भएको खाली जमिनमा वा रुखका बिरुवा नहुर्किउन्जेल बीच–बीचमा कृषि बाली लगाउन कृषकलाई प्रोत्साहित गर्ने, उनीहरुलाई तालिम र बिरुवा उपलब्ध गराउने कार्यक्रम छ।

-रासस

तपाइँको प्रतिक्रिया ।