आज बैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।
आज जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, । मातृदेवो भवः’भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।
जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको छ ।
आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।