के हो एमाले काठमाडौँको विवाद ? 

कपन अनलाइन, काठमाडौं ।

तीन नम्बर प्रदेश संगठन कमिटीले २०७३ चैत १५ गते स्थानीय तहको चुनावलाई ध्यानमा राखी काठमाडौं जिल्ला संगठन कमिटी पुनगर्ठन गरेको थियो ।

काठमाडौं जिल्ला संगठन कमिटीमा संस्थापन पक्षका धेरै नेताहरु भए भन्दै  प्रदेश संगठन कमिटीले पार्टी नेतृत्वलाई सक्षि राखी सह संयोजकमा बसन्त मानन्धर र जिल्ला कमिटीमा ३८ सदस्य थप गरी मिलाएको थियो । यसअघि ८७ सदस्यीय जिल्ला समितिमा माधव नेपाल पक्षका ३८ सदस्य थपेर स्थानीय तहको चुनावमा पार्टी एकढिक्का बनाएर लाने तयारी प्रदेश संगठन कमिटीले गरेको थियो ।

प्रदेश संगठन कमिटीले संस्थापन पक्षकै नेता काशीनाथ अधिकारीको संयोजकत्वमा गठन गरेको कार्यदलको सुझावका आधारमा बनाएको कमिटीलाई काठमाडौं जिल्ला एमालेका संयोजक कृष्ण राईले मान्न आनाकानी गर्दै संयोजक राईले सह संयोजकमा रामवीर मानन्धर रहेको स्थानीय तह निर्वाचन परिचालन कमिटी बनाएका थिए । यसले पार्टीमा थप विवाद बढ्दै गएको हो ।

काठमाडौंमा जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बेलामा सरकारले निर्वाचन घोषणा गरेकाले अधिवेशन स्थानीय निर्वाचन पछि गर्ने निर्णय दुवै  पक्षले गरेका थिए । काठमाडौं एमालेका नेताहरुले गलत समयमा जुँगाको लडाई लड्दा जताततै समस्यै समस्या देखिएको छ ।

स्थानीय तहको उम्मेदवारी चयन गर्ने बेलामा भएको यस्तो बाँदरे लडाइँले निर्वाचनको  परिणाममा  तलमाथि भए दुवै पक्षका नेताहरुलाई कालोमोसो दलेर काठमाडौंमा दौडाइन्छ भन्दै  एक जिल्ला नेताले कपन अनलाइनसँग आक्रोश पोखे ।

एमालेको यो विवाद सोमवार स्थायी कमिटीको  बैठकले किनारा लगाउने एमाले स्रोतको दावी छ   ।

 

तपाइँको प्रतिक्रिया ।