नेपाल–भारत सञ्चारकर्मी मैत्री सङ्घ स्थापना हुने
कपन अनलाइन
ललितपुर, २२ चैत । नेपाल र भारतबीच जनस्तरमा रहेको सदियौँ पुरानो मैत्री सम्बन्धलाई अझ दरिलो बनाउन पत्रकार र आमसञ्चारको महत्वपूर्ण भूमिका रहेको तथ्यमाथि जोड दिँदै ‘भारत–नेपाल सम्बन्ध प्रवद्र्धनमा आम सञ्चारको भूमिका’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी यहाँ आज समापन भएको छ ।
भारतको मध्य प्रदेशमा रहेको माखनलाल चतुर्वेदी पत्रकारिता तथा सञ्चार राष्ट्रिय विश्वविद्यालयद्वारा आयोजना गरिएको सो दुइदिने गोष्ठीको समापनका अवसरमा नेपाल–भारत मैत्री सम्बन्धलाई उन्नत बनाउने तथा यस सम्बन्धमा रहेका गलत बुझाई वा अल्प बुझाइलाई हटाउने उद्देश्यले दुवै देशका पत्रकारको एउटा साझा मञ्चका रुपमा नेपाल–भारत सञ्चारकर्मी मैत्री सङ्घको स्थापना गर्ने घोषणा गरिएको छ ।
गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक विके कुठियालले सो घोषणा गर्नुभएको हो । साथै, उहाँले भारतीय र नेपाली सञ्चारमाध्यममा एकअर्को मुलुकका बारेमा कस्तो प्रकारका समाचार र विचार सम्प्रेषण हुँदा रहेछन् भन्ने जानकारी राख्न ती देशका सञ्चारमाध्यममा प्रकाशित र सम्प्रेषित सामग्रीको सँगालो आफ्नो विश्वविद्यालयले प्रकाशन गर्ने घोषणा गर्नुभयो ।
त्यसैगरी, उपकुलपति कुठियालले आफ्नो विश्वविद्यालयले नेपाल–भारत सहयोगसम्बन्धी र अन्य विविध विषयमा जानकारीमूलक वेबसाइट (प्रस्तावित नामः डब्लुडब्लुडब्लु डट नेपालभारतसहयोग डटकम ९धधध।लभउबदिजबचबतकबजबथयन।अयm० निर्माण गर्ने, नेपाली विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने र कार्यरत पत्रकारका लागि तालिम सञ्चालन गर्ने घोषणा गर्नुभयो ।
उहाँले यी सबै क्रियाकलाप काठमाडौँ विश्वविद्यालयको सहयोग र सहकार्यमा हुने उल्लेख गर्नुभयो । यसक्रममा विश्वविद्यालयले एकअर्का देशका पत्रकारबीच अध्ययन भ्रमण कार्यक्रमलाई पुनर्जीवित गर्न भारत सरकारसँग पहल गर्ने जानकारी पनि दिनुभयो ।
गोष्ठीअन्तर्गत आजको प्राविधिक सत्रमा भारत–नेपाल सम्बन्धका सन्दर्भमा सञ्चार गतिशीलता तथा भारत र नेपालमा आमसञ्चार शिक्षाका क्षेत्रमा सहकार्यको सम्भावना विषयमा नेपाल र भारतका प्रबुद्ध पत्रकार, प्राध्यापक तथा अध्येताले चर्चा परिचर्चा गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार सल्लाहकार माधव शर्मा, भारतीय अखबार ‘तरुण भारत’का प्रमुख सम्पादक गजानन् नामदेव, नेपाली साप्ताहिक पत्रिका ‘घटना र विचार’का सम्पादक बबिता बस्नेत, मिडिया एक्सन नेपाल संस्थाका अध्यक्ष लक्ष्मणदत्त पन्त, काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डा सुधांशु दाहालले भारतीय र नेपाली सञ्चारमाध्यम दुई देशबीचको सम्बन्धका सन्दर्भमा सन्तुलित, जिम्मेवारीपूर्ण, वस्तुनिष्ठ र सत्यनिष्ठ हुन नसकेकोतर्फ ध्यानाकर्षण गर्दै दुवै देशका सञ्चारमाध्यमलाई त्यहाँका जनताप्रति जिम्मेवार हुन र नेपाल–भारतको जनस्तरको सम्बन्धलाई बढावा दिन आग्रह गर्नुभयो ।
वरिष्ठ पत्रकार एवम् त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख पी खरेल, माखनलाल चतुर्वेदी राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक अरुण भगत, काठमाडाँै विश्वविद्यालयका प्राध्यापक डा निर्मलमणि अधिकारी र भारतीय शिक्षणमण्डलका संयुक्त आयोजना सचिव मुकुल कनिटकारले नेपाल र भारतका सञ्चार तथा पत्रकारिता प्रतिष्ठानबीच पाठ्यक्रम विकास, अनुसन्धान, प्राध्यापक आदानप्रदान, शिक्षण अनुभव र शोध नतिजा आदानप्रदान तथा प्रविधि र ज्ञान अभिवृद्धिमा सहकार्य र सहयोगको खाँचो औँल्याउनुभयो ।
व्यवस्थापिका–संसद् अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति प्रभु साहले नेपाल–भारत सम्बन्धको विकल्प यसलाई थप सुदृढ बनाउनु नै हो भन्दै दुवै देशका आमसञ्चार माध्यमले यो सम्बन्धलाई समानताका आधारमा परिपोषित गर्नमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् शिक्षाविद् डा सुरेशराज शर्माले नेपाल–भारत सम्बन्धमा ती मुलुकका जनताको भावनाको कदर हुनुपर्नेमा जोड दिँदै दुवै देशका विश्वविद्यालय तथा नागरिक एवम् सांस्कृतिक प्रतिष्ठानले त्यसतर्फ पहल गर्नुपर्छ भन्नुभयो ।
सो अन्तर्राष्ट्रिय गोष्ठीमा काठमाडौँ विश्वविद्यालय, बिपी कोइराला भारत–नेपाल फाउन्डेसन र मिडिया एक्सन नेपालको सहआयोजना रहेको थियो । रासस