शङ्कर आधारभूत विद्यालय सफा विद्यालय घोषणा

कपन अनलाइन 

इलाम, १६ चैत । इलामको रोङ गाउँपालिका–३ कोल्बुङ्ग, मार्सेमा रहेको शङ्कर आधारभूत विद्यालय जिल्लाको पहिलो सफा विद्यालय घोषणा भएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ इलामले जिल्लाभरिका २० वटा सफा विद्यालयबाट छनौट गरेर उक्त विद्यालयलाई सफा विद्यालय घोषणा गरेको हो ।

सरसफाइका २० वटा सूचकमध्ये १९ वटा सूचक पूरा गरेकाले सो विद्यालयलाई सफा विद्यालय घोषणा गरिएको हो । पहिलो हुने सफा विद्यालयलाई नगद रु २० हजार पुरस्कार प्रदान गरिएको महासङ्घकी उपाध्यक्ष हेमन्ता निरौलाले बताउनुभयो ।

मङ्गलवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालयका प्रधानाध्यापक कमलकुमार आचार्यलाई जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतम र सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले रु २० हजार बराबरको चेक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यसैगरी, माईपोखरीस्थित बालमण्डल माध्यमिक विद्यालय, जस्विरे दोश्रो सफा विद्यालय घोषणा भएको छ । सो माध्यमिक विद्यालयलाई रु १० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।