जीतपुरफेदीमा संस्कृत ग्रामको काठमाडौँ केन्द्र
कपन अनलाइन
काठमाडौँ, १४ चैत । काठमाडौँको तारकेश्वर नगरपालिका¬–३, जीतपुरफेदीमा गौरीशङ्कर संस्कृत ग्रामको काठमाडौँ केन्द्र निर्माण हुने भएको छ ।
जीतपुरफेदीवासीले उपलब्ध गराएको ६२ रोपनी क्षेत्रफलमा ग्राम निर्माण हुन लागेको हो । जसमध्ये ६१ रोपनी क्षेत्रफल भुवनेश्वरी मन्दिरको जग्गा रहेको गौरीशङ्कर संस्कृत ग्रामका अभियन्ता जनार्दन घिमिरेले बताउनुभयो ।
एक रोपनी भने ग्राम निर्माणकै लागि स्थानीयवासीहरु घनश्याम घिमिरे र माधवप्रसाद घिमिरेले दान गर्नुभएको हो ।
“संस्कृत शिक्षाको परम्परा नेपालसँग पनि जोडिएको छ, तर नेपालमा सञ्चालन भइरहेको संस्कृत शिक्षा बनारसको पाठ्यक्रममा आधारित छ, नेपालमा परापूर्वकालमा अभ्यासमा रहेको मौलिकपन यसमा छैन, यसैले नेपालसँग जोडिएको संस्कृत शिक्षाको प्राचीन परम्परालाई खोज गरी अध्ययन गराउने उद्देश्यले ग्राम निर्माणको अवधारणा अघि सारिएको हो” – उहाँले भन्नुभयो ।
ऋग्वेदको तेस्रो मण्डलमा उल्लेख गरिएको ससरपरी, ब्राह्मी र सौरी विद्या नेपालको कोसी, गण्डकी र कर्णालीसँग सम्बन्धित थियो । विश्वामित्र ऋषिले गायत्री मन्त्रको सहायतामा ससरपरी, वशिष्ठ ऋषिले सावित्री मन्त्रको सहयोगमा ब्राह्मी र वामदेव ऋषिले व्याहृति मन्त्रको सहयोगमा सौरी विद्याको सुरुवात् गरेको विश्वास छ ।
राजा रामले तीनै ऋषिलाई गुरु बनाएको प्रसङ्ग पौराणिक ग्रन्थमा वर्णन गरिएको छ । तर अहिले यी तीनै विद्या लुप्त भएकाले खोज अनुसन्धान गर्ने उद्देश्यले ग्रामको अवधारणा ल्याइएको हो ।
ससरपरी, ब्राह्मी र सौरी गरी तीनै विद्याको अभ्यासबिना गायत्री पूर्ण नहुने यस विषयमा अनुसन्धानरत अभियन्ता घिमिरे बताउनुहुन्छ । ब्राह्मी विद्या अर्थात् वागीश्वरीका विषयमा योगी नरहरिनाथले पनि काम अघि बढाउनुभएको थियो ।
योसँगै ऐतिहासिकस्थल जनकपुरको हल र विदेह विद्या पनि लुप्त भयो । यिनको हालसम्म खोजी पनि हुन सकेको छैन । ज्ञानको आयाम जनकपुरबाट ‘ज्ञा’ र बुद्ध जन्मस्थल लुम्बिनीबाट ‘प्रज्ञा’ को सुरुवात् भएको थियो । यो विद्या पनि अहिले लुप्तप्रायः छ । कोसी, गण्डकी र कर्णालीको ‘विज्ञा’, वाग्मती किनार पशुपतिमा ‘सङ्ज्ञा’ र तनहुँमा ‘अनुज्ञा’ गरी पाँच ‘ज्ञ’ को प्रयोग पनि प्राचीनकालमा नेपाल भूमिमै भएको थियो ।
ज्ञानका यी आयामलाई स्थापित नगर्दा नेपाल पछि परेकाले संस्कृत ग्राममार्फत यसको पुनर्जागरण गर्न खोजिएको अभियन्ता घिमिरेले बताउनुभयो । यसका लागि काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माको अध्यक्षतामा अन्तर्राष्ट्रिय संस्कृत ग्राम समिति गठन गरिएको छ ।
अध्यक्ष शर्मा, डिजाइनर शङ्करनाथ रिमाल, टोपोग्राफिकल इन्जिनियर आरके श्रेष्ठलगायतले जीतपुरफेदी क्षेत्रको निरीक्षण गरी ग्रामको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । भुवनेश्वरी मन्दिरका स्वामी श्यामानन्द ब्रह्मचारी श्यामबाबा, ठाडोपाखो सामुदायिक वन उपभोक्ता समिति र स्थानीयवासीले यज्ञ गरी संस्कृत ग्राम काठमाडौँ केन्द्र निर्माण समूहलाई जीतपुरफेदीमा स्वागत गरेका थिए ।
जीतपुरफेदीमा दोलखा जिल्लामा निर्माण भइरहेको गौरीशङ्कर संस्कृत ग्रामको काठमाडौँ केन्द्र बनाउन लागिएको हो । रासस