अनलाइन संचारमाध्यम संचालन निर्देशिका २०७३ बारे चौतर्फी बिरोध
कपनअनलाइन, काठमाडौँ /
सरकारले जारी गरेको अनलाइन संचारमाध्यम संचालन निर्देशिका २०७३ प्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।
सरकारले नै गठन गरेको सुझाव समितिको विपरीत निर्देशिकाको संशोधित रुप सार्वजनिक भएकोमा संघले आश्चर्य प्रकट गरेको छ ।
प्रेस कानुनसँग सरोकार नभएको सुशासन (व्यवस्थापन तथा संचालन) ऐन अन्तर्गत जारी निर्देशिकाकाले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता विपरित रहेको संघको ठहर रहेको विज्ञप्तिमा जनाइएको छ ।
न्यायिक परीक्षण बिनै संचारमाध्यकमको संचालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रक्रियामा हस्तक्षेप गर्न सक्ने जस्ता प्रावधान कायमै राखि आएको निर्देशिकाले अनलाइन संचारमाध्यम क्षेत्रको विकासलाई कुण्ठित गर्ने भएको हुँदा निर्देशिका खारेज गर्न सरकारसँग माग गरेको छ ।
अनलाइन पत्रकार संघका सचिव केशव राज पाठकले सूचना सम्प्रेषणको प्रक्रियामा सरकारको यो निर्णयले हस्तक्षेप गरेको बताएका छन् । भर्खरै विकासको चरणमा रहेको अनलाइन पत्रकारितालाई यसरी नियन्त्रण गर्न खोज्दा पत्रकारिता कै भूमिका खुम्चिने बताउँदै उनले तत्काल निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरे । निर्णय फिर्ता गराउन तहमा सरकार नपुगे सबैखाले आन्दोलनका लागि नेपाली पत्रकारितको क्षेत्र तयार रहेको पाठकको भनाइ थियो ।
सरकारको प्रतिबन्धका बारेमा प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सुशासनको नाममा पत्रकारिताको अधिकार कुण्ठित गर्ने सरकारको कदम प्रति प्रेस युनियनको आपत्ति रहेको प्रतिक्रिया दिएका छन् ।
अनलाइन पत्रकार संघ संग आबद्ध कपन अनलाइनले सरकारले जारी गरेको निर्देशिकाप्रति आपत्ति जनाउदै संघको बिरोधका हरेक कार्यक्रममा एक्यबद्धता जनाउनेछ ।