मुस्लिम समुदायका किशोरी शिक्षाबाट लाभान्वित

कपन अनलाइन 

महेन्द्रनगर (धनुषा), ८ चैत । कजरा रमौल–१ का रोशनी खातुन अहिले गाउँमै सञ्चालन भइरहेको किशोरी कक्षाबाट शिक्षा आर्जन गर्दैहुनुहुन्छ । एघार वर्षीया खातुनले पहिलोपटक अक्षर चिन्ने मौका पाउनुभयो । रोशनीसँगै सोही बस्तीका बेगम खातुन, जसिमा खातुनलगायत २० किशोरी अहिले सोही कक्षाबाट शिक्षा आर्जन गरिरहनुभएको छ ।

उनीहरू सबै मुस्लिम समुदायका किशोरी हुन् । विद्यालयसम्म पहुँच नभएका किशोरीलाई घरपरिवारले मदरर्सामा पठाउने गरेका छन् । तर अभिभावकले किशोरीलाई अध्ययनका लागि विद्यालय नपठाउँदा अक्षरसमेत चिन्न सकेका छैनन् ।

संयुक्त राष्ट्र सङ्घीय बालकोष(युनिसेफ)को सहयोगमा जिल्ला शिक्षा कार्यालय र सामुदायिक परिवार कल्याण सङ्घको साझेदारीमा अहिले गाउँमै किशोरी कक्षा सञ्चालन भइरहेको छ । गाउँमै किशोरी कक्षा सञ्चालन भएपछि विद्यालयको पहुँचबाट टाढा रहेका किशोरीले शिक्षा लिने अवसर पाएका हुन् ।

विपन्न, दलित तथा मुस्लिम समुदायका सन्तानलाई लक्षित गरी कजरा रमौलमा तीनवटा तथा बघचौडा गाविसमा कक्षा सञ्चालन भइरहेको छ । दैनिक दुई घन्टा कक्षा चल्छ । पायक पर्ने ठाउँमा कक्षा सञ्चालन भएका कारण पढ्न सहज भएको किशोरीहरु बताउँछन् ।

मुस्लिम समुदायले छोरीलाई विद्यालय कमै मात्रामा पठाउने गरेका छन् । प्रत्येक समूहमा २० देखि २२ जना किशोरीलाई राखेर कक्षा सञ्चालन भइरहेको सामुदायिक परिवार कल्याण सङ्घका कार्यक्रम संयोजक लक्ष्मेश्वर मण्डलले बताउनुभयो । शिक्षिकाले किशोरीहरुलाई उपलब्ध भएको पाठक्रमअनुसार अध्यापन गराउँदै आएका छन् ।

“वैशाखसम्म सबै कक्षा सम्पन्न गरी किशोरीहरुलाई विद्यालयमा लगेर कक्षा ३ मा भर्ना गर्छौँ,” मण्डलले भन्नुभयो । किशोरीलाई दश कक्षासम्म पढ्नका लागि सहयोग पु¥याउने छ ।

सहायक जिल्ला शक्षा अधिकारी दानीकान्त झाले शिक्षाबाट वञ्चित रहेका मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।