ग्रामीण भेगमा ७६ बालविकास भवन निर्माण

कपन अनलाइन 

रोल्पा, ४ चैत । जिल्लाको ग्रामीण भेगका विभिन्न ११ गाविसमा मानव अधिकार सचेतन केन्द्र रोल्पाले ७६ वटा बालविकास केन्द्र भवन निर्माण गरेका छन् ।

जिल्ला शिक्षा कार्यालय रोल्पासँग समन्वय गरी जिल्लाका लिवाङ, खुमेल, खुङ्ग्री, घोडागाउँ, दुविडाँडा, झेनाम, सखी, नुवागाउ, कोटगाउ, धवाङ र ओत गाविसमा ती भवन निर्माण गरिएको हुरेक रोल्पाले जनाएको छ ।

भवन निर्माणमा स्थानीय समुदायको माग र लागत विवरणअनुसार कम्तीमा तीन देखि ६ लाखसम्म खर्च भएको बताइएको छ ।

बालबालिकाको बसाइँ व्यवस्थापन, शैक्षिक सामग्री सहयोग तथा बाल शिक्षकलाई तालिमसमेत प्रदान गरी बालविकास केन्द्रलाई सिकाइ मैत्री बनाउने काममा सहयोग गरिएको हुरेक रोल्पाका शिक्षा परियोजना संयोजक कृष्णबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

२०१४ सालदेखि सेभ ‘द’ चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित सो परियोजनाबाट हालसम्म दुई हजार भन्दा बढी बालबालिका प्रत्यक्ष लाभान्वित भएको घर्तीले जानकारी दिनुभयो ।

पहिले विद्यालयको बालविकास भवन नहँुदा कक्षा कोठामा पढ्ने गरेको बालबालिकालाई यस बालविकासमैत्री भवनले विद्यार्थीलाई सहज वातावरण बनाएको बागेश्वरी प्राथमिक विद्यालय त्रिकोट रोल्पाका प्रअ केवलप्रसाद आचार्यले बताउनुभयो ।

भवनसँगै मानोरन्जनात्मक खालका खेलैना, समाजमा भएका बस्तुस्थितिको चित्रलगायतका सामग्रीले गर्दा यहाँ बालबालिकालाई रमाउने वातावरण प्राप्त भएको आचार्यले बताउनुभयो ।

आर्थिक स्रोतको अभाव झेलिरहेका ग्रामीण भेगका बालविकास केन्द्रलाई यस्ता सहयोगले ठूलो सहयोग पुगेको मानव अधिकार सचेतन केन्द्र रोल्पाका अध्यक्ष घनश्याम आचार्यले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।