महोत्तरीमा ४४ विद्यार्थी निष्कासित

कपन अनलाइन 

गौशाला, ४ चैत । देशभरि नै सुरु भएको माध्यमिक शिक्षा परीक्षाअन्तर्गत महोत्तरी जिल्लामा बिहीबार भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा ४४ जना विद्यार्थी निष्कासित भएका छन् ।

प्रजिअ वीरेन्द्र यादवको नेतृत्वमा गएको अनुगमन टोलीले एसइई परीक्षा दिने क्रममा चिट चोरेको आरोपमा ११ छात्र र ३३ छात्रा गरी जम्मा ४४ जना विद्यार्थीलाई निष्कासन गरेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

प्रजिअ यादवको परीक्षा अनुगमन टोलीले जिल्लाको मनरा उच्च माविबाट ६, साँढा माविबाट ११, कोल्हुवा बगेया माविबाट आठ र बखरीभाठ उच्च माविबाट १९ गरी ४४ जना विद्यार्थीलाई निष्कासित गरेको जनाइएको छ ।

साथै चिट चोराउन सहयोग गरेको भन्दै मनरा उमाविबाट निरीक्षक नागेन्द्रकुमार ओझालाई समेत निष्कासित गरिएको छ । महोत्तरीमा यसपालि २८ परीक्षा केन्द्रमा जिल्लाका एक सयतीन विद्यालयका नौ हजार एकसय तीनजना विद्यार्थीले परीक्षा दिइरहेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।