कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन
कपन अनलाइन
मिन ठकुरी
धनगढी, २७ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर एक नेपाली युवकको मृत्यु भएको विषयलाई लिएर कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन गरिएको छ ।
धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
नेपाल भारत सीमा नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित प्रदर्शनकारीहरुलाई प्रहरीले नाकामा रोकेर राखेको छ । सीमा नाकामा जानबाट रोकेको भन्दै प्रदर्शनकारीहरुले नेपाल प्रहरीको समेत विरोध गरेका छन् ।
उनीहरुले भारतको ज्यादतीबिरुद्ध स्थानीय प्रशासनले केही पहल नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् ।
कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले गएराती एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सीमा विवादले उग्ररुप लिन पुगेपछि आज कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएका छन् । सीमा नाका प्रबेशमा रोक लगाइएको छ । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले (एसएसबी) ले चलाएको गोली लागेर एक नेपाली गोविन्द गौतमको मृत्यु भएको थियो । सीमा नाकामा प्रदर्शनकारीले चर्का नाराबाजी गर्न थालेपछि भारतीय सुरक्षा सीमा बल एसएसबीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
उनको मृत्युको विषयलाई लिएर आज एक दिनका लागि ७ नं. प्रदेश बन्द गरिएको छ । बन्दले यस क्षेत्रको जनजीवन प्रभावित बन्न पुगेको छ । यसै गरी युवा संघ नेपाल कैलालीले धनगढीको एलएन चोकमा भारतीय अखवार अमर उजाला जलाएको छ । भारतीय अखवार अमर उजालालाई कैलालीमा प्रतिबन्ध लगाउने युवासंघले जनाएको छ ।