हुलाकी सडक नबन्ने चिन्ता
कपन अनलाइन
गुलरिया (बर्दिया), २७ फागुन । गुलरियामा हुलाकी सडक नबन्ने हो कि भन्ने स्थानीयवासीले चिन्ता गरेका छन् । हुलाकी सडक स्तरोन्नतिका क्रममा अलपत्र हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ सडकखण्डको कन्सट्रक्सन सर्भे अन्तिम चरणमा पुगेको भनिए तापनि काम कहिले सुरु हुने हो निश्चित छैन ।
बर्दियाको भुरिगाउँ–गुलरिया हँुदै मुर्तिहासम्मको साढे ३५ किलोमिटर सडक समयमै निर्माण सुरु नहुँदा बबई नगरपालिकासहित शिवपुर, ठाकुरद्वारा, सूर्यपटुवा, ढोढरी गाविससहित सानोश्रीताराताल र राजापुर क्षेत्रका स्थानीयवासी खाल्डाखुल्डी सडकमा जोखिम र झन्झटिलो यात्रा गर्न बाध्य छन् । फागुन पहिलो साताबाट भुरिगाउँदेखि सुरु गरिएको संयुक्त कन्सट्रक्सन सर्भे अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना नेपालगन्जले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले डेढ महिनाअघि माघ ८ गते बर्दियामा हुलाकी सडकको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको एक साताभित्रै निर्माण सुरु हुने मन्त्री लेखकले आश्वासनसमेत दिनुभएको थियो । तर डेढ महिना भइसक्दा पनि मन्त्रीको आश्वासन पूरा हुन सकेको छैन ।
आयोजनाले जहिले पनि अबको दुई हप्तामा सुरु हुन्छ भन्न थालेको चारपटक भइसक्यो तर काम सुरु भएको छैन । सडक निर्माणको ढिलाइका सम्बन्धमा हुलाकी सडक आयोजना प्रमुख सुमन योगेसले सडकको सम्पूर्ण सम्झौता भएर प्रक्रिया अघि बढिसकेको र अहिले सडक सर्भेको काम भइरहेकाले सर्भेको काम सकेर चैत पहिलो साता भित्रै सडक निर्माणको काम सुरु हुने बताउनुभयो ।
तर हुलाकी राजमार्ग आयोजनाले भने सडक समयमै सम्पन्न हुने दाबी गरेको छ । आयोजना प्रमुख योगेशले निर्माण अढाई वर्षभित्र नै सम्पन्न हुने बताउँदै ‘सडकको मापदण्डअनुसार परिमाणमा हुने परिवर्तनको भेरिफिकेसन गर्न गरिएको कन्सट्रक्सन सर्भेको काम सकिँदै सर्भे सकिएको एक साता भित्रै ठेकेदारले काम सुरु गर्ने बताउनुभयो ।
भुरिगाउँदेखि सानोश्री सम्मको सर्भे सकिएकाले अब करिब १० किलोमिटर मात्रै सर्भेको काम बाँकी रहेको उहाँको भनाइ छ । त्यस्तै हुलाकी सडकअन्तर्गत पर्ने सर्यु नदीमा पक्की पुल निर्माणको काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
बर्दियाको भुरिगाउँ–गुलरिया हुलाकी सडक शिलन्यास हुँदा स्थानीयवासी निकै खुसी भएका थिए । तर शिलान्यास भएको डेढ महिना पुगिसक्दा पनि सडक निर्माणको काम सुरु नहुँदा स्थानीयवासीले सडक नबन्ने हो कि भन्ने आशङ्का गर्नु स्वाभाविक हो । रासस