देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड
कपन अनलाइन
काठमाडौँ, २० फागुन । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मुलुकमा राजनीतिक स्थिरता कायम गरी देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा राजदूत उपाध्यायले संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै राजनीतिक दलहरूको अबको एजेन्डा आर्थिक विकास बन्नुपर्ने धारणा राख्नुभयो ।
“संविधान कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल एकापसमा मिल्नुको विकल्प छैन, त्यसैले दलहरूले असहमतिभित्र पनि सहमति जुटाउनुपर्छ” – उहाँले भन्नुभयो ।
नेपाललाई पूर्णरूपमा विद्युत्भार कटौतीमुक्त गर्न भारतले सहयोग गरिरहेको र आगामी दिनमा समेत सहयोग गर्ने उहाँको भनाइ छ ।
राजदूत उपाध्यायले नेपालका राष्ट्रपतिको भारत भ्रमण छिट्टै हुने तयारी भइरहेको समेत जानकारी दिनुभयो । रासस