सय वर्षपछि

-आर.एम्. डङ्गोल

(महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकीको अवसरमा रचना गरिएको)

सय वर्षपछि पनि
तिम्रै सपनाहरुले जोडिरहेको छ
तिमीसँग हाम्रो सम्बन्ध,
हामी पढिरहेका छौँ
शब्दमा तिम्रा सपनाहरु
शब्दहरुसँग अक्षरशः सुरक्षित छ
तिम्रो देश प्रेम
अतित मोह
प्रकृति प्रेम
तिम्रै शब्दहरुबाट जानेका हौँ
उडेर चन्द्रमा छुने इच्छा
सुन्दर, शान्त, विशाल देशको कामना
तिमी को हौ भन्दा
म नेपाल हँु भन्ने जवाफ
सय वर्षपछि पनि
तिम्रा सपनाहरु
उत्तिकै सुन्दर छन्
यतिबेला
शब्दहरुको हाटबजारमा
तिम्रो ठूला चर्चा छ
मरणअघिसम्म
तिमीले एउटै गुनास पनि
सिरानीमा छाडेनौ
आफ्नो पीडा र दुःखको रङ
कसैलाई देखाएनौ
सय वर्षपछि पनि
हामीसँग बाँकी छ एउटा गुनासो
तिम्रा सपनाहरुको सम्बोधन
अब बन्ने संबिधानमा होला कि नहोला ?
तिम्रो शतवार्षिकी पछि
तिम्रै सपनाहरु पनि बेवारिसे बन्छन् कि भन्ने डर छ ।
सय वर्षपछि पनि
तिम्रै सपनाहरुले जोडिरहेको छ
हाम्रो सम्बन्ध ।

तपाइँको प्रतिक्रिया ।