ेलखाका कक्षा कक्षामा जिशिअ

कपन अनलाइन 

दोलखा, २८ माघ । शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त छन् ।

नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कक्षामा पुगी विद्यार्थीलाई पढाउने गरेका छन् ।

विद्यालयको शैक्षिक अवस्थाको निरीक्षण एवम् अनुगमन गर्ने क्रममा जिशिअ काशिछेवाले शैक्षिक अवस्थाको छड्के जाँच गरी अपुग कुरा विद्यार्थीलाई सिकाउने गरेका छन् । जिशिअले टोलीमा विषयगत विशेषज्ञ स्रोत व्यक्तिहरु लिएर जाने हुँदा विषयगत समस्या समाधान गर्न सजिलो भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।

जिल्लाको सिकाइ उपलब्धि जसरी भएपनि वृद्धि गर्नुपर्ने चुनौती आजका शिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीमा रहेकाले विद्यालय निरीक्षण दौडाहा कार्यक्रम अभियानका रुपमा अगाडि बढाएको जिशिअ काशिछवाले बताउनुभयो । शैक्षिक सुधारका लागि शिक्षाका तीन खम्बा शिक्षक, विद्यार्थी र अभिभावकलाई नै सचेत तथा क्रियाशील गराउन गाउँगाउँ पुग्ने गरेको जिशिअ काशिछेवाले दाबी गर्नुभयो ।

विद्यालयमा प्रधानाध्यापक भए÷नभएको छड्के रुपमा शिक्षकलाई टेलिफोन गर्ने र को शिक्षक छैन, प्रअलाई निरन्तररुपमा फोन गर्ने अभियान जिशिअ काशिछेवाले चलाउनु भएको छ ।

विगतका दिनमा भन्दा काशिछेवाको आगमनपछि अधिकांश विद्यालयमा शिक्षकले नियमित रुपमा पढाउन थालेको प्रधानाध्यापक बताउँछन् । भौतिक निर्माणका काम जिल्ला शिक्षाले तीव्र गतिमा अगाडि बढाएको छ ।

जिल्लामा सञ्चालित निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि धेरै नै न्यून रहेकाले जिल्ला शिक्षा कार्यालयको यो अभियानले यी विद्यालयको अन्तरलाई केही हदसम्म कम गर्ने शिक्षाविद प्रदीप मानन्धरले बताउनुभयो । मानन्धरले भन्नुभयो “हरेक जिशिअले यही शैक्षिक गतिमा अघि बढ्ने हो भने सरकारले अपेक्षा गरेको शैक्षिक उपलब्धि सहजरुपमा हासिल हुनेछ ।”

काशिछेवा जिल्ला शिक्षा अधिकारीका रुपमा दोलखामा आएपछि शैक्षिक सुधारका गतिविधि उल्लेख्यरुपमा अगाडि बढिरहेको राजकुलेश्वर निमाविका शिक्षक तथा सहायक प्रधानाध्यापक बलराम शिवाकोटी बताउनुहुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।