सालीनदीमा नियमित गङ्गा आरती

सालीनदीमा नियमित गङ्गा आरती

कपन अनलाइन 

काठमाडौँ, २६ माघ । प्रत्येक वर्ष माघ महिनामा माधवनारायण मेला लाग्ने साँखुस्थित सालीनदीमा आज बेलुकीदेखि नियमित गङ्गा आरती सञ्चालन हुने भएको छ ।

श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले पशुपति गङ्गा आरती समूहको सहयोगमा नियमित आरती गर्न लागेको हो । ऐतिहासिक, सांस्कृतिक र धार्मिक हिसाबले महत्वपूर्ण भए पनि सालीनदी एवम् साँखु क्षेत्र ओझेलमा परेकाले यहाँको धार्मिक पर्यटन प्रवद्र्धनका लागि नित्य आरती सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष राजभाइ मानन्धरले राससलाई जानकारी दिनुभयो ।

“पौराणिक कालमा नवराज राजाले राज्य गरेको, सालीनदीमा ब्रत गरी चन्द्रावती पापबाट मुक्त भई पुण्य कमाएको धार्मिक विश्वास छ, ऐतिहासिक रुपमा कान्तिपुरमा बस्ती बस्नुअगावै राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यो स्थानको ऐतिहासिक महत्व पनि छ”– उहाँले भन्नुभयो ।

यस वर्ष कठोर ब्रत बसेका ब्रतालुले आजै परदेश यात्रा पूरा गरेको समितिले जनाएको छ । माघ शुक्ल एकादशीका दिन मङ्गलबार चाँगुनारायणको दर्शनमा गएका ब्रतालु आज साँखु फर्किएका छन् । यसअघि माघ कृष्ण पक्षमा ब्रतालुले पशुपति, फर्पिङ र शुक्ल पक्षको प्रतिपदा तिथिमा बनेपा र पनौतीको खाली गोडा पैदल परदेश यात्रा गरेका छन् ।

यस वर्ष १७७ महिला र १५ पुरुष गरी १९२ जनाले माधवनारायण एवम् स्वस्थानीको कठोर ब्रत गरिरहेको समितिले जनाएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको यो ब्रत माघ शुक्ल पूर्णिमा अर्थात् माघ २८ गते शुक्रबार सम्पन्न हुनेछ । रासस

तपाइँको प्रतिक्रिया ।