विपद्पूर्वको तयारी कार्यशाला
कपन अनलाइन
काठमाडौँ, १८ माघ । ‘विमानस्थललाई विपद्का लागि तयारी अवस्थामा राखौँ’ विषयको चार दिने कार्यशाला गोष्ठी आजदेखि यहाँ सुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ड्वैचे पोस्ट डिएचएल ग्रुप (डिपिडिएचएल)को संयुक्त आयोजनामा सुरु भएको कार्यशालामा विमानस्थल सम्बद्ध कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र मानवीय उद्धारका क्षेत्रमा क्रियाशील अधिकारी गरी ३० जनाको सहभागिता छ ।
रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगन्जको क्षेत्रीय विमानस्थलको मूल्याङ्कन गरेर विपद्पछिको अवस्थालाई सुदृढ गर्ने विषयमा कार्यशाला केन्द्रित हुनेछ ।
कार्यशालाका सहभागी र प्रशिक्षकले दुई विमानस्थलको विद्यमान अवस्थाको मूल्याङ्कन गरेर भविष्यमा आइपर्ने विपद् व्यवस्थापनका लागि तयार रहन सरकारलाई ठोस सुझाव दिने आयोजकले बताएका छन् ।
आपत्कालीन सामग्रीको सहज आपूर्तिका लागि पूर्वाधार निर्माण, शिष्टाचारबारे जानकारी र प्राकृतिक विपद्पछिको हवाई आवागमन, सामान र व्यक्तिको ओहोरदोहोर व्यवस्थापन गर्न आवश्यक कदमबारे पनि कार्यशालामा छलफल हुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शङ्करप्रसाद अधिकारी नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल रहेको अवस्थामा कुनै ठूलो प्राकृतिक विपद् आइलागे वैकल्पिक व्यवस्था गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो ।
गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले गत वर्षको भूकम्पपछि अब बन्ने भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउनुपर्ने नियमलाई सरकारले पूर्ण कार्यान्वयन गर्न लागिरहेकोे जानकारी दिनुभयो ।
युएनडिपीका नेपालस्थित आवासीय प्रतिनिधि भेलरी जुलियाडले नेपाल भूपरिवेष्ठित राष्ट्र भएको र सामुद्रिक पहँुच नभएकाले विपद्का बेला मानवीय सहायता र आवश्यक सामग्रीको ओसारपसारका लागि विमानस्थलकै भर पर्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी विपद्को व्यवस्थापनको तयारी गर्नुपर्ने भनाइ राख्नुभयो ।
डिपिडिएचएलका मानवीय सहायता प्रमुख क्रिस विक्सले विपद् व्यवस्थापनको कामलाई नेपालले प्राथमिकता दिएर अघि बढ्नु खुसीको कुरा भएको टिप्पणी गर्दै यसलाई कार्ययोजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
गत वर्षको भूकम्पलाई ध्यानमा राखी भावी दिनमा हुन सक्ने प्राकृतिक विपद्पछि एकसाथ आउने राहतको व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । रासस