तरकारी उत्पादनमा कमी

तरकारी उत्पादनमा कमी

कपन अनलाइन 

काभ्रे: तरकारी उत्पादनमा कमी आएको छ । चिसो मौसममा कृषकले बेमौसमी रुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको उत्पादनमा कमी आएको हो । उग्रचण्डी नालास्थित उग्रचण्डी तरकारी बजारमा तरकारी किसानभन्दा व्यापारीको सङ्ख्या मात्रै बढेको छ ।

 
तरकारी उत्पादनमा कमी आएपछि मूल्य वृद्धि भएको स्थानीय व्यापारी सहदेव दाहालले बताउनुभयो । तरकारीको मौसममा दैनिकरुपमा करिब ५०० किसानले तरकारी ल्याउने गरेका थिए । तर अहिले दैनिक ५० जनाको हाराहारीमा मात्र तरकारी बिक्री गर्न आउने गरेका छन् ।

 
कालीमाटी तरकारी बजारमा भन्दा यहाँ किसानले तरकारीको मूल्य बढी पाउने गरेका छन् । उग्रचण्डी कृषि बजारमा अन्य बजारमा भन्दा राम्रै व्यापार हुने गरेको अर्का स्थानीय व्यापारी सुन्दर पराजुली बताउनुहुन्छ ।

 
जाडो मौसममा सिँचाइको अभाव हुने हुँदा उत्पादनमा कमी आएको स्थानीय कृषक सरस्वती बजगाईंले बताउनुभयो । तरकारीको उत्पादन अनुसार बजार मूल्य नपाएको उहाँले गुनासो गर्नुभयो । “बजारमा व्यापारीको हारालुछ नै चल्छ, तर भने अनुसारको मूल्य दिँदैनन्,” उहाँले भन्नुभयो । दिनरात तरकारी खेतीमा नै लाग्दा पनि लगानी अनुसारको मूल्य पाउन नसकेका किसान बताउँछन । रासस

तपाइँको प्रतिक्रिया ।