बुनपाको आव २०७४/७५ को बजेट ३० करोड १३ लाख, ८५ हजार ५ सय रुपैँया

बुनपाको आव २०७४/७५ को बजेट  ३० करोड १३ लाख, ८५ हजार ५ सय रुपैँया

कपन अनलाइन, काठमाडौँ । देशकै ठूलो नगरपालिकामध्ये एक बुढानिलकण्ठ नगरपालिकाको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ । बुनपाले स्वास्थ्य मन्त्री गगन थापालाई प्रमुख अतिथि तथा सांसद डा राजन भट्टराईलाई विशेष अतिथि बनाएर नयाँ बजेटको सार्वजनिकीकरण गरेको हो ।

गोल्फुटारको एक पार्टी प्यालेसमा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृतले आगामी वषए २०७४/७५ का लागि बुनपाको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । नेपालको संबिधानले लिएको मार्गदर्शन तथा प्रावधानहरुलाई आधार बनाएर बनाइएको नयाँ बजेटसँगै कार्यकारी अधिकृत मरासैनीले बुनपाले लिने केही दीर्घकालिन लक्ष्य र सोचहरु पनि सार्वजनिक गरे । आगामी २० वर्षका लागि भनेर राखिएको दीर्घकालिन लक्ष्यमा पूर्वाधार विकास र सम्पन्न नगरपालिकाको सपना समेटिएको छ । लक्ष्यमा केवलकार संचालनदेखि आवाशीय नगर क्षेत्रसम्मको सपना लक्ष्यमा समेटिएको छ ।


यस अघि मरासैनीले बुनपा स्थापनापश्चात भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका थिए । उपलब्धीहरुमा नगरपालिका भवन सिलान्याससहित सौर्य बत्ति जडानसम्मका कुराहरु समावेश छन् ।
मरासैनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी वर्ष २०७४ ७५ का लागि बोटानिकल गार्डेन निर्माण गर्ने योजना सार्वजनिक गरे । मुख्य सडकहरुमा सौर्य बत्ति जडान, टाउन हल निर्माण, नगर यातायत संचालन, फोहरमैलाको व्यवस्थित व्यवस्थापनजस्ता विषय आगामी वर्षका योजनामा समावेश गरिएको छ । नयाँ नीति तथा योजनामा वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापनलाई बिशेष जोड दिइएको छ ।

खोला खोल्सीको अतिक्रम रोक्ने, बुुंगुरपालनलाई विस्थापित गर्ने, हरेक घरले अनिवार्य सेफ्टीट्यांकी निर्माण गर्नुपर्ने, १ घर दुई बिरुवा कार्यक्रम ल्याउनेजस्ता विषयहरु नीति तथा योजनामा अटाएका छन् ।


बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनीले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा योजनामा कृषि व्यवस्थापन, विपद प्रकोप व्यवस्थापन, सार्वजनिक सम्पत्ति र पूर्वाधार संरक्षण, पर्यटन तथा संस्कृति, नक्सापास मापदण्डलगायत सामाजिक विकासमा बालबालिका मापदण्ड, शैक्षिक विकास नीति आदि समावेश छन् ।
कार्यकारी अधिकृत मरासैनीले नीति तथा योजनाका साथमा आगामी आर्थिक वर्ष २०७४ ७५ का लागि रु. ३० करोड १३ लाख, ८५ हजार ५ सय रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटअन्तर्गत चालु तर्फ ६ करोड खर्च हुनेछ भने पुँजिगततर्फ २४ करोड १३ लाख ८५ हजार ५ सय खर्च हुने जनाइएको छ । पूँजिगततर्फको खर्चमा भवन निर्माणका लागि १ करोड ३० लाख, नगरबस तथा फोहरमैला व्यवस्थापनका लागि १ करोड १० लाख, साझेदारी कोषका लागि १ करोड ५ लाख, प्रवर्धन तथा पूर्वाधार विकासका लागि १३ करोड ४३ लाख ८५ हजार ५ सय खर्चन हुने जनाइएको छ ।


सार्वजनिकिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्यमन्त्री गगन थापाले बुनपाभित्र एक नगर अस्पताल बनाउन आफुले विशेष पहल गरिरहेका बताउँदै नगरपालिकाले उपयुक्त जमिन उपलब्ध गराउन अनुरोध गरे । थापाले चाँडैनै स्थानीय निकायको निर्वाचन मिति तोकिन लागिएको हुँदा सबैलाई स्थानीय निकाय चुनावको तयारीमा रहन अनुराध गरे । कार्यक्रमलाई विशेष अतिथि सांसद राजन भट्टाराईले सम्बोधन गर्दै नगरको विकासमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताउँदै स्थानीय निकायको चुनाव बिना विकासका कतिपय अवस्था सुध्रन नसक्ने बताए ।
कार्यक्रमलाई बुनपा सहजीकरण समिति सदस्यहरु रविन अधिकारी, बिदुरविक्रम खड्का, राजाराम बुढाथोकी, शिला लामालगायतले सम्बोधन गर्दै नगरको विकासमा कार्यकारी अधिकृतलगायत कर्मचारी तथा सहजीकरण समिति सक्रिय रहेको बताएका थिए । कार्यक्रममा सहभागिहरूले  नगरपालिकाले लिएको लक्ष्य तथा योजनाको प्रसंशा गरेका थिए । यद्धपि कुन कुन शीर्षकमा कति बजेट छुट्टयाइएको भन्ने कुरा भने सार्वजनिक गरिएको थिएन ।

तपाइँको प्रतिक्रिया ।