काँग्रेसले विपीले देखाएको बाटो बिर्सिएको आरोप
कपन अनलाइन
काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसका नेताहरूले पार्टीले विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोलाई बिर्सेको बताएका छन् । विपी विचार राष्ट्रिय समाज, काठमाडौँ शाखाले ‘राष्ट्रिय मेलमिलाप दिवस’का अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा काँग्रेसका नेता कुलबहादुर गुरुङले विपी कोइरालाले देखाएको बाटोलाई काँग्रेसले भुल्दै गएको बताए ।
उनले भने, “विपीलाई सम्झनामात्र गर्ने हो भने उनको तस्बिरमा जन्मदिन र मरेको दिनमा फुलमाला चढाइदिएमात्र पुग्छ, तर उनको विचारलाई आम जनतामाझ लैजाने हो भने पार्टीले विपीको विचार आम नागरीकसमक्ष लैजान विभिन्न कार्यक्रम गर्नुुपर्छ ।” नेता गुरुङले विपी कोइरालाले देखाएको बाटोलाई विर्सने हो भने विपीप्रति ठूलो अन्याय हुने बताए ।
काँग्रेसका नेता एवम् पूर्वमन्त्री गोविन्दराज जोशीले विपी कोइरालाको विचारलाई पार्टीले अक्षरसः पालना नगरे नेपाली काँग्रेस पार्टी नै नरहने बताए। उनले भने, “काँग्रेस संसदमा भएर पनि राष्ट्रका प्रमुख पदमा काँग्रेसको उपस्थिती हुन नसक्नु दुःखद कुरा हो ।”
नेता जोशीले मुलुकमा काँग्रेस नरहे प्रजातन्त्र धरापमा पर्ने भन्दै प्रजातन्त्र संस्थागत गर्नका लागि काँग्रेस बलियो हुन जरुरी रहेको बताए। काँग्रेस नेता एवम् पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले विपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद धरापमा पर्दै गएको बताए । उनले प्रश्न गर्नुभयो, “विदेशमा निर्णय गरेर राष्ट्रियताका कुरा गर्ने, पैसाको भरमा राजनीति गरेर प्रजातन्त्रका कुरा गर्ने र निम्न वर्गका जनतालाई वेवास्ता गरेर समाजवादका कुरा गर्ने प्रवृत्तिले कसरी विपीको विचार अगाडि बढ्छ ?”
समाजको काठमाडौँ शाखाका अध्यक्ष सुरेन्द्रप्रसाद मिश्र, समाजका राष्ट्रिय महासचिव विनयध्वज चन्द, राष्ट्रिय कोषाध्यक्ष गीता रेग्मी, काँग्रेसका नेता लोकेश ढकाल, डा गोविन्द गुरागाँईलगायतले विपीको विचारलाई आत्मसात गरेर अगाडि बढेमात्र पार्टी र मुलुक बलियो हुनेमा जोड दिए ।
(फाइल फोटो)