यातायात व्यवस्था विभागको नयाँ कार्यालय ठूलो भर्याङमा खुल्यो, चाबेलमा खुल्दै

कपन अनलाइन

पौष १६ । यातायात ब्यवस्था विभागले भोलि आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरणको काम थाल्ने भएको छ । लामो समयदेखि गरेको  तयारी अन्तर्गत विभागले आइतबारदेखि स्वयम्भु नजिकको ठूलोभर्‍याङस्थित नयाँ कार्यालय शुरू गर्न लागेको हो  । आइतवार   भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

 

यो कार्यालयको उद्घाटनपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने  छ । यो कार्यालयसँग ट्रायल सेन्टर नभएकाले सुरुवातमा  लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत अवेदन पनि कार्यालयले बुझ्नेछ ।

 

 

यद्धपि अबको एकहप्ताभित्रै कार्यालय अन्तर्गत रहने गरी निजी ट्रायल सेन्टर भाडामा लिएर काम थालिने तयारी भएको विभागका निर्देशक निरञ्जन रिजालले जनाएका छन् । रिजालले भने,’लाइसेन्स वितरणअघि हुने ट्रायलका लागि निजी सेन्टर भाडामा लिन लागेका छौं । यसपछि काठमाडौंमा लाइसेन्स बनाउन सर्वसाधारणलाई निकै सहज हुनेछ ।’

 

 

यसैगरी यातायात व्यवस्था विभागले  भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खोल्दैछ  ।

तपाइँको प्रतिक्रिया ।