छैनन् गाउँमा युवा, सबै भारततिर

छैनन् गाउँमा युवा, सबै भारततिर

कपन अनलाइन

डोटी, १६ पुस । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् । खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र गाउँमा कुनै पनि रोजगारी नभएका कारण यहाँका धेरै युवा भारत जाने गरेका छन् । उनीहरु भारतमा बसेर तीन चार महिना कमाउने र पुनःखेती भित्र्याउनका निम्ति घर फर्कने गरेका छन् । अधिकांश युवा वैशाख महिनामा फर्किन्छन् भने कतिपय दसैँमा फर्कने गरेका छन् ।

डोटीको चवरा चौतारा गाविसका करिब ३५ जना युवा एकै साथ भारत जान भनी दिपायल बसपार्कमा भेटिए । सो गाविसका गौरी गडसिलाले भने, “हामीहरुलाई भारत जान रहर होइन, यहाँ रोजगारी पाइँदैन के गर्ने, घरमा एक्ली श्रीमती र साना द्ुई छोराछोरी छन्, यतै दिपायलतिर सानो काम पाइए पनि गर्थेँ ” उनले थपे, “यहाँ काम नै छैन, भए पनि छाक धान्न नसकिने तलबमा काम गर्नुपर्छ ।”

चवरा चौताराकै गगन बोहरा पहिला दीपायलमा बसेर काम गर्नुभएको तर हाल उनी भारत जाँदैछन्। नेपालमा भनेअनुसारको तलब सुविधा नभएको उनको भनाइ छ । “महिनौँ काम गरेर घरमा खान ठिक्क हुन्छ, साहुको ऋण तिर्नै प¥यो” गगनले भन्नुभयो, “यो बुढेसकालमा घर नजिकै सानो काम पाइए पनि गर्ने थिएँ ।”

सो गाविसका करिब ७५ प्रतिशत युवा अहिलेसम्म विदेश पलायन भएका छन् । त्यहाँका मात्र नभई जिल्लाभरिमै ६५ प्रतिशतभन्दा बढी युवा रोजगारीका सिलसिलामा बाहिरिएका छन् । जिल्लामा हुने विकास निर्माणका कार्यमा पूर्वाधार खडा गर्न छिमेकी जिल्ला कैलाली तथा भारतबाटै मिस्त्री ल्याउनुपर्ने बाध्यता रहेको छ । एक त यहाँका जनतामा सीप नहुनु र अर्कातर्फ पढाइ छाडेर सानै उमेरमा भारत जाने गर्नाले सो समस्या आएको दिपायलका ठेकेदार रमेश खडायतले बताए । उनले कुनै पनि संरचना निर्माण कार्यमा डोटीमा महिला मात्रै हुने र पुरुष नपाइने गरेको बताए । 

तपाइँको प्रतिक्रिया ।