पहलमानपुर गाविसलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा

पहलमानपुर गाविसलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा

कपन अनलाइन 

मिन ठकुरी 

धनगढी, १५ पुस । कैलालीको पहलमानपुर गाविसलाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो गाविसलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।
पहलमानपुर गाविसका ३ हजार बढी घरधुरीमा शौचालय निर्माण गरिएपछि उक्त गाविसलाई सरोकारवाला निकायको उपस्थितीमा खुला दिसामुक्त घोषणा गरिएको गाविस सचिव सुरेशराज पौडेलले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले शुक्रबार एक कार्यक्रमकाबीच गाविसलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन् ।
पहलमानपुर गाविस, नवजीवन सेवा संघ कैलाली, बालकल्याण टिकापुर, जिल्ला विकास समिति कैलाली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलाली, पहलमानपुर स्वास्थ्य चौकी, स्थानीय पूर्ण खोप समन्वय समिति लगायतको सहयोगमा पहलमानपुर गाविसलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले खुलादिसामुक्त र पूर्ण खोप प्रतिवद्धता घोषणापत्र पढेर हस्ताक्षर गरी उक्त घोषणा गरेका हुन् । रिजालले पहलमानपुर गाविस खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरेरमात्र नहुने भन्दै त्यसका लागि आमनागरिकले दिगो बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख शाहीले कैलाली जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सरोकारवालाको सहयोग आवश्यक रहेको बताए । उनले जिल्लामा अझै १६ गाविस, पाँच नगरपालिका र एक उपमहानगरपालिका पूर्ण खोप घोषणा गर्न बाँकी रहेको बताए । उनले जिल्लामा अझै २० हजार बढी बालबालिका खोपबाट वञ्चित रहेकोले जिल्लाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउनुपर्नेमा जोड दिए ।
पहलमानपुर गाविस सचिव तथा समन्वय समितिका संयोजक शुेसराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका योजना अधिकृत हर्क कडायत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर दलबहादुर शाह, महिला संजालका अध्यक्ष यम पोख्रेल, नवजीवनका कार्यक्रम अधिकृत एकिन्द्र ठकुल्ला, वल्र्डभिजनका विकास गौतम पत्रकार महासंघका जिल्ला अध्यक्ष भरत शाहले मन्तव्य व्यक्त गरेका थिए ।
यसै गरी साबिकको उर्मा हाल धनगढी उपमहानगरपालिका १५, १६ र १७ गरी तीन वटा वडालाई शुक्रबार एक कार्यक्रमकाबीच खुलादिसामुक्त गाविस घोषणा गरिएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाको प्रम्ख आतिथ्यमा गरिएको खुला दिसामुक्त क्षेत्र कार्यक्रममा इन्जिनियर दिजराज भट्ट, जिल्ला विकास समितिका प्रशासकीय अधिकृत नारायण शर्मा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुष्पराज पन्त, नेपाली काँग्रेसका आशाराम चौधरी, एमालेका दिलबहादुर बोहरा, नवजीवनका सल्लाहकार नानु देवान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
ती तीन वडाका २९ सय १० घरधुरीमा शौचालय निर्माण गरिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।