न्युरोड मोबाइल महोत्सव पुस १३ गतेदेखि

न्युरोड मोबाइल महोत्सव पुस १३ गतेदेखि

 

कपन अनलाइन, काठमाडौँ, ११ पौष, २०७३

 ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको सो महोत्वसव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । नेपालको मोबाइल हबको रूपमा परिचित पाको न्युरोडमा हुने महोत्सवलाई ‘एनसेलले’ प्रायोजन गर्नेे यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सङ्घले अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र, पाको न्युरोडस्थित ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा महोत्सवको तयारी पूरा भएको सङ्घका संयोजक पुरूषोत्तम बस्नेतले जानकारी दिए । सङ्घमा हाल ५०० भन्दा बढी व्यावसायी आबद्ध छन् । नेपालीले पनि गुणस्तरीय मोबाइल सेट खरिद गरून र नठगिउन भन्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सबै मोबाइल ब्रान्ड रहने र नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्तालाई अधिकतम छुट दिइने संयोजक बस्नेतले जानकारी दिए। महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा एक सय एमबीको डाटा सहुलियत दिइनेछ ।

महोत्सव अवधिभर मोबाइल बजारको विभिन्न स्थानमा फूड जोन, किड्स जोन, गेमिङग जोन ग्राहकको लागि राखिने र हरेक मोबाइलमा विशेष छुट दिइने महोत्सवका सहसंयोजक आविष्कारलाल श्रेष्ठले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।