दोहोरो कर प्रणालीले किसानहरु मर्कामा

दोहोरो कर प्रणालीले किसानहरु मर्कामा

कपन अनलाइन,धनगढी, ५  पुस ।

मिन ठकुरी 

जिल्ला विकास समितिले दोहोरो कर लिने गरेका कारण मर्कामा पर्दै आएको कैलाली कञ्चनपुरका किसानहरुले गुनासो गरेका छन् ।
जिल्लामा उत्पादित कृषिजन्य वस्तुको निकासी कर एक प्रतिसत नबढाइकन लिनुपर्ने भएता पनि जिल्ला बाहिर निकासी गर्दा दोहोरो कर लगाएर किसानबाट असुलि गर्ने गरिएकोले आफूहरु मारमा पर्दै आएको उनीहरुले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर गुनासो गरेका हुन् ।


भारतबाट आउने आलु, प्याज, फलफुल तथा तरकारीमा जिल्ला विकास समितिले कर असुल भन्सारमा नै गरेको भएपनि ती कृषिजन्य वस्तु पहाडी जिल्ला पठाउँदा पनि पुनः कर लिने गरेकोले आफूहरु दोहोरो मारमा पर्दै आएको किसान संघका अध्यक्ष नन्दलाल भट्टले जानकारी दिए ।
उनका अनुसार यसबारे जिल्लास्थित विभिन्न सरोकारवाला निकायमा गुनासो गर्दा चाँसो नदेखाएपछि सर्बोच्च अदालतमा रिट निवेदन गर्दा पारबाहन वाफलत कृषिजन्य वस्तुमा कर असुलउपर गर्न नपाउने परमादेश जारी भएको छ ।
अदालतले जारी गरेको परमादेश लागू नभए आफूहरु आन्दोलन गर्न बाध्य हुने यहाँका किसानहरुको भनाई छ । उनीहरुका अनुसार कृषि उत्पादक किसानसँग ट्राफिक प्रहरीले समेत पटक–पटक दुःख दिने काम भईरहेको समेत उनीहरुले पत्रकारसम्मेलनमा दुखेसो पोखेका छन् ।
दोहोरो करप्रणाली अन्तर्गत किसानबाट १३ देखि १५ प्रतिसत कर असुलि भईरहेकोले त्यसको असर उपभोक्ता र किसानलाई पर्दै आएको बताइएको छ ।
किसान संघका अध्यक्ष भट्टका अनुसार दोहोरो कर खारेजी नगरिए यही पुस ९ गते जिल्ला विकास समिति कैलाली घेरोउ गर्ने, पुस ११ गते देखि अनिश्चितकालिन फलफुल तथा तरकारी आयात निर्यात पूर्ण रुपमा बन्द गराउने र पुस २२ गतेदेखि किसान र व्यापारी आमरण अनसनमा बस्ने योजना छ ।

तपाइँको प्रतिक्रिया ।