तातोपानीको सडक खुले पनि नाका अझै खुलेन
कपन अनलाइन, चौतारा, ५ पुस, २०७३
भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन । चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब २१ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न नसकेको हो । सो क्षेत्रमा चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र टोलीले मानव बस्ती बसाउन सकिने भनी प्रतिवेदन दिएपछि मात्र नाका खुलाउन सकिने चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले राससलाई बताए ।
चिनिया पक्ष पनि जति सक्दो चाँडो नाका खुलाउन इच्छुक रहेको र अब बस्ने सीमा सुरक्षा बैठकमा त्यसबारेमा थप कुरा राखिने प्रजिअ सिल्वालले बताए । भूकम्पले क्षतविक्षत पारेर लामो समयसम्म अवरुद्ध बाह्रबिसेदेखि तातोपानीको सीमा पुलसम्मको २६ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो । तर गएको असार २१ गते भोटेकोसी नदीमा आएको भिषण बाढीले त्यहाँको मानव बस्ती र सडकको विभिन्न भाग कटान गर्नुका साथै ठाउँ ठाउँमा गएका ठूला पहिरोले आवागमन बन्द भएको थियो । बन्द सडकलाई पुनःनिर्माण गरी लिपिङसम्म यातायात सञ्चालन भएको छ ।
कोठेलगायतका विभिन्न स्थानमा गएको पहिरोको काम दोलखास्थित सडक डिभिजन कार्यालयले मर्मत सम्भार गरिरहेको छ । जुरेको पहिरोदेखि बाह्रबिसे माथि पर्ने घट्टेखोला, ¥यालेभिर, लिपिङलगायतका पाँच ठूला पहिरोसहित २६ किलोमिटर सडकखण्ड पुनःनिर्माणको काम चिनियाँ रेलबे कम्पनीले पूरा गरेको इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए । अरनिको राजमार्गको ९२ किलोमा पर्ने जम्बोदेखि लिपिङसम्मको सडकलाई पक्की रुपमा निर्माण गर्न चिनियाँ कम्पनीलाई प्रस्ताव गरे पनि निर्णय भइनसकेको इन्जिनियर पन्थीको भनाइ छ ।
सडक पुनःनिर्माण भएसँगै राजधानीबाट यात्रुबस चल्न थालेपछि तातोपानी धारामा स्नान गर्नेको सङ्ख्यामा वृद्धि हुन थालेको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताए । भूकम्पबाट विस्थापित भई अन्यत्र गएका परिवार पनि क्रमिक रुपमा आफ्नै थातथलोमा फर्कन थालेको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए ।