बुनपामा महत्वपूर्ण योजना ल्याउँदै छन् खानेपानी समिति संयोजक रविन अधिकारी

कपन अनलाइन, पौष ५, २०७३


बुढानिलकण्ठ नगरपालिकामा रविन अधिकारीलाई विकासप्रेमी नेताको रुपमा चिनिन थालेको छ । विकास निर्माणको कुरालाई पार्टीगत परिधिबाट माथि उठेर निर्णय गर्ने गरेका कारण उनलाई विकासप्रेमी नेताको रुपमा लिन थालिएको हो । बुनपा सहजीकरण समितिमा बलियो पकड बनाएका अधिकारी बुनपाभित्रको खानेपानी समितिको संयोजक पनि हुन् । महत्वपूर्ण भौगोलिक परिवेशमा रहेको बुनपालाई कसरी खानेपानीमा धनी बनाउन सकिन्छ भन्ने कुरामा उनी विचाराधिन छन् । उनले केही महत्वपूर्ण योजनामा बनाउँदै गरेको बताएका छन् । पुषमा हुने बुनपा बजेट परिषदमा उनले खानेपानीको अभाव हुने गरेको क्षेत्रमा करिब ५ करोडको भिन्न योजनामा बजेट विनियोजनको संभाव्यता खोजिरहेका छन् ।

यसअघि काठमाडौं क्षेत्र नं. ४ का सांसद तथा मन्त्री गगन थापाले करिब १० करोडको खानेपानीको आयोजनामा बजेट छुट्याएको खबरले खुशी भएका बुनपावासीलाई रविन अधिकारी अझै खुशी बनाउन चाहन्छन् । उनी भन्छन्, ‘यतिखेर माओवादीको सरकार भएकाले केन्द्रिय बजेट वा अर्थ मन्त्रालयसमेतमा पहल गरेर खानेपानीको क्षेत्रमा बुनपालाई समृद्ध बनाउँछु ।’ रविन अधिकारीले तत्कालका लागि बुनपा १३ को अमलाबोट नजिक १० लाख लिटर क्षमताको ट्यांकी, वडा नं. ६ भुमेडाँडामा १० लिटर क्षमताको ट्यांकी निर्माण, वडा नं. २ को बँदेली डाँडामा ५ लाख लिटरको पानी ट्यांकी निर्माणको योजना बनाएका छन् । ‘बजेटको पहल पनि भैसकेको छ’, रविनले भने । त्यसैगरी वडा नं. ९ र १२ को लागि जगन्नाथ क्षेत्रमा ५ लाख लिटरको ट्यांकी र बोरिंङ गर्ने काम पनि यही बजेटमा समाहित गर्ने उनको योजना छ । त्यसैगरी वडा नं. १२ को जोरधारा खानेपानी संस्थाको क्षमता विकासका लागि २५ लाख रुपैँया उपलब्ध गराउने योजना पनि उनले बनाएका छन् ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको महत्वपूर्ण हिस्सा ओगटेको बुनपाभित्र शिवपुरी क्षेत्रको पानीलाई व्यवस्थित बनाएर वितरण गर्न र हाल मुहानपोखरीबाट राजधानी भित्रिरहेको खानेपानीलाई बुनपावासीको घरघरमा पुर्याउने पनि रविन अधिकारी जुटेका छन् । उनी भन्छन् ‘सबैले साथ दिनुस् चाँडै नै मुहानपोखरीको पानी वुनपावासीको घरघरमा आउनेछ ।’

तपाइँको प्रतिक्रिया ।