संशोधन प्रस्ताव स्थगन गरी निर्वाचन गर्नुपर्छ– डा महत
कपन अनलाइन, काठमाडौँ, १ पुस
नेपाली काँग्रेसका नेता डा रामशरण महतले संविधान संशोधन प्रस्तावलाई केही समय स्थगन गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
यहाँ आज आयोजित साक्षात्कारमा डा महतले संशोधन प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्ने बताउँदै नेकपा (एमाले)ले प्रस्तावमा छलफल नै गर्न नदिई संसद् अवरुद्ध गरेर गलत गरेको आरोप लगाउनुभयो ।
संशोधन प्रस्ताव केही समय पर सारी अन्य महत्वपूर्ण ऐन÷कानुन, निर्वाचनसम्बन्धी विधेयक, महाअभियोगको प्रस्तावलाई अघि बढाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
स्थानीय तहको पुनःसंरचनाका लागि आयोगले काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘ आयोगले काम त गरिरहेको छ, तर यसलाई विवादमा पार्ने काम कसैले गर्नुहुँदैन, कतिपय जिल्लामा अझै विवाद छ, तराईका आठ जिल्लामा आयोग अहिलेसम्म प्रवेश नै गर्न सकेको छैन, त्यसैले जबर्जस्ती आयोगलाई काम गर्न दबाब दिनुहँदैन ।’’
उहाँले भन्नुभयो,‘‘ पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख तीन दलबीच भएको सहमति स्वागतयोग्य छ ।” रासस