सिकाइ उपलब्धि नगराउने शिक्षकलाई सरुवा

कपन अनलाइन, खोटाङ, १ पुस ।

सिकाइ उपलब्धि नगराउने खोटाङका सामुदायिक विद्यालयका शिक्षकलाई अयोग्य ठहर गर्दै अन्यत्र सरुवा गर्ने निर्णय गरिएको छ ।

शैक्षिक गुणस्तरमा खोटाङ मुलुकमै कमजोर सावित भएपछि सुधार गर्ने अभियानअन्तर्गत यस्तो निर्णय गरिएको हो ।

शिक्षकको शिक्षण क्षमता विकासका लागि विभिन्न सन्दर्भ स्रोतका सामग्री खरिद गर्ने, तालिम दिलाउने र त्यसपछि पनि विद्यार्थीमा सिकाइ उपलब्धि नभए त्यस्ता शिक्षकलाई अयोग्य ठहर गर्दै अन्यत्र सरुवा गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिनुभयो । उपलब्धि मापनका लागि जिल्ला शिक्षा कार्यालयले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई परीक्षा लिने तयारी गरेको छ ।

अभियानअन्तर्गत सामुदायिक विद्यालयमा पढाउने शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतका बालबच्चालाई अब निजी विद्यालयमा पढाउन नपाउने पनि निर्णय गरिएको छ । जिल्लास्थित राजनीतिक दललगायत सरोकारवाला निकायको सहभागितामा बसेको बैठकले जिल्लाको शैक्षिक सुधारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला शिक्षा अधिकारी नेपाल खोटाङ आउनुभएलगत्तै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा कार्यालयले आह्वान गरेको प्रतिबद्धतासहितको प्रस्तावनाका आधारमा निवेदन दिने जिल्लाका विभिन्न ३० विद्यालय छनोट गरिएको छ । उक्त विद्यालयमा पाठ्यक्रममा आधारित शिक्षण सिकाइ, पुस्तकालय व्यवस्थापन र शिक्षकलाई तालिमको व्यवस्था गरिने जिशिअ नेपालले बताउनुभयो ।

पुस्तकालय व्यवस्थापनका लागि शिक्षाले रु छ लाख ५० हजार उपलब्ध गराउने जनाइएको छ । बैठकले भौतिक निर्माणमा भवन, शौचालय, मर्मतलगायतमा रकम निकासा गरेर काम नगर्ने र छात्रवृत्तिलगायतका विविध शीर्षकमा रकम निकासा गरेर दुरुपयोग गर्ने विद्यालयलाई कारबाही गर्नेसमेत निर्णय गरिएको छ ।

निर्णयकै आधारमा शिक्षा कार्यालयबाट वितरण गरिएका आठकोठे, छकोठे र चारकोठे भवनको सम्झौता गरी पेस्की लिएर विद्यालय भवन नबनाउने जिल्लाका १० वटा विद्यालयलाई कार्यालयले ताकेता गरेको छ । एक साताभित्र काम नथाले सम्झौता भङ्ग गरेर अन्य विद्यालयलाई योजना दिने जानकारीसहित ताकेतापत्र लेखिएको जिशिअ नेपालले जानकारी दिनुभयो ।

जिशिअ नेपालका अनुसार एक वर्षअघि सम्झौता भएका १० विद्यालयले अझै भवन नबनाएकाले ताकेता गरिएको हो । गत वर्षको फागुनमा सम्झौता र आधा पेस्की रकम पनि लिइसकेकाले एक साताभित्र भवन नथाले सम्झौता भङ्ग गरेर अर्को विद्यालयलाई योजना दिने पत्राचार गरिएको जनाइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।