सबै दल मिलेर संविधान कार्यान्वयनमा लागौंः नेम्वाङ

सबै दल मिलेर संविधान कार्यान्वयनमा लागौंः नेम्वाङ

कपन अनलाइन, इलाम, १८ मङ्सिर ।

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

किराँत धर्मगुरू आत्मानन्द लिङदेनको ६३ औँं शुभजन्मोत्सवको अवसरमा आज इलामको बाँझोस्थित लारूम्बामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो — ‘अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनको बेला हो ।

पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले जसरी सबै दल मिलेर संविधान निर्माण ग¥यौं, त्यसरी नै सबै मिलेर संविधानको पूर्ण कार्यान्वयन गर्न सक्नुपर्दछ भन्दै संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा अनियमितता भए तत्काल स्थानीयतहबाट खबरदारी गर्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

सोही अवसरमा नेता नेम्वाङले इलाम चुलाचुलीका ज्ञानुदय लावती र झापाका देवदास लगुन राईलाई जनही रु. १० हजार ६३ को आत्मानन्द साहित्य पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा किराँत गुरू आत्मानन्द लिङदेनले उपस्थित भक्तजनलाई आर्शिवचन दिनुभयो । मङ्सिर १६ गतेदेखि सुरू भएको जन्मोत्सवमा फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा देश विदेशका किराँत धर्मावलम्बीको सहभागिता रहेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।