संशोधन फिर्ता नभए मतदानबाट विफल पारिन्छ : सचिव योगेश भट्टराई
कपनअनलाइन,काठमाडौं, मंसिर १७
नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधन प्रस्ताव पारित नहुने बताएका छन्। शुक्रबार अनलाइन पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले कुनै हालतमा संशोधन पारित हुन नसक्ने बताए।
उनले भने, ‘देशहित विपरीत आएको संशोधन प्रस्ताव पारित हुदैहुदैन। तर, त्यसपछि प्रमुख दलहरुबीच आउनसक्ने तिक्तताको चिन्ता छ।’ निर्धारित समयभित्र तीन तहकै चुनाव गरेर मुलुकलाई सामान्य अवस्थामा फर्काउन दलहरुबीच एकता आवश्यक रहेको बताए।
एमाले प्रचार प्रमुख रहेका भट्टराईले प्रमुख दलहरुबीच सहमति हुन आवश्यक रहेको बताए। भने, ‘दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर हुने संशोधनले संविधानको स्वीकार्यता बढाउँदैन।’
संशोधन फिर्ता नभए मतदानबाट विफल
भट्टराईले संशोधन प्रस्ताव सरकारले फिर्ता लिने समय अझै बाँकी रहेको बताए। ‘समय अझै बाँकी छ। मधेशी मोर्चाले समेत अस्वीकार गरिसकेको प्रस्ताव फिर्ता लिनु आवश्यक हुन्छ’, भट्टराईले भने।
सरकारले संशोधन प्रस्ताव फिर्ता नलिए संसदीय प्रक्रियाबाट विफल बनाउने उनले बताए। ‘पाँच नम्बर प्रदेशमा आन्दोलन उठिसकेको छ, यसलाई रोक्ने सामथ्र्य सरकारसँग छैन’, भट्टराईले भने।
महाअभियोग प्रस्ताव लम्ब्याइयो
अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव संसदले अनावश्यक रुपमा लम्ब्याइएको बताए। उनले अहिले संसदमा विरोध गर्दा महाअभियोग प्रस्ताव रोकिनु संयोग मात्रै भएको बताए।