पुरानो कपडाबाट तीन लाख आम्दानी
कपन अनलाइन, हेटौँडा, १६ मङ्सिर ।
कपडा पुरानो भएर लाउन नमिल्ने भएपछि तपाईं के गर्नुहुन्छ ? यो प्रश्नको जवाफ सामान्यतया फाल्छौँ भन्ने आउला । तर हेटौँडा उपमहानगरपालिकामा भने सिरक डसना बनाउछौँ भन्ने जवाफ आउन थालेको छ ।
हेटौँडा उपमहानगरपालिका–८ का कमानसिंह लामाको हेटौँडा कपास उद्योगमा पुराना कपडाको कपास बनाउन आउनेको भिड लाग्दछ । होटल व्यवसायबाट मनग्य आम्दानी नभएर वैदेशिक रोजगारको सपना देख्न थालेका लामालाई आफन्तले थोरै लगानीमा गर्न सक्ने यस्तो व्यवसायको बारेमा सुझाएपछि आफन्तसँग ऋण मागेर उहाँले हेटौँडा कपास उद्योग सञ्चालन गर्नुभएको हो ।
डेढ वर्ष अगाडि खोलेको सो उद्योगबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको लामा बताउनुहुन्छ । करिब रु १५ लाख लगानीबाट सुरु गरेको उक्त उद्योगले १० जनालाई रोजगारी दिएको छ ।
एक किलो कपडा पेल्न उहाँले रु १८ लिने गर्नुहुन्छ । पुरानो कपडा नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा हाल्ने गरेको यहाँका बासिन्दा अहिले पेलेर डसना बनाउन थालेका छन् । “पैसाको बचत भएको छ,” हेटौँडा–४ की सुजता मैनालीले भन्नुभयो– “फोहरको गाडीमा कपडा हाल्न कस्तो माया लाग्थ्यो, राख्ने ठाँउसम्म हुन्नथ्यो तर बल्ल यसको सदुपयोग भएको छ ।” रासस