कपनअनलाइन, काठमाडौं, १५ मंसिर
एमालेले संविधान संशोधन प्रस्ताव बिरुद्ध संसद अवरोध गर्ने निर्णय गरेको छ । संसद भवन भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव बिरुद्ध संसद अवरोध गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव संविधान विपरित भएकाले त्यसलाई संसदबाट पास हुन नदिने गरी तयारीका साथ उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।
उपाध्यक्ष गौतमले देशको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र एकता माथि खेलवाड गर्ने गरी संशोधन प्रस्ताव आएकोले त्यस्तो प्रस्तावलाई एमालेले कुनै पनि हालतमा संसदबाट पास हुन नदिने बताए ।
त्यस्तै एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले रुपान्तरित संसदले प्रदेशको सिमान फेर्ने व्यवस्था संविधानले नगरेकाले संसदमा दर्ता भएको प्रस्ताव संविधान विपरित भएको बताए । उपनेता नेम्वाङले सर्वोच्च अदालतले समेत संविधान संशोधनका विषयमा कारण देखाउ आदेश जारी गरिसकेको अवस्थामा रातारात संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अदालतको समेत अवहेलना भएको बताए ।
नेकपा एमालेले संविधान संशोधन जनताको हितमा नभएको भन्दै आन्दोलनमा जाने तयारी गरेका र त्यसका लागि सम्बन्धित क्षेत्रका सांसदहरुलाई तयार रहन समेत निर्देशन दिएको छ ।
नेकपा एमालेले संसद चलेका समयमा अनुपस्थित नहुन तथा विदेश गएका र काम विशेषले बाहिर रहेका सवै सांसदहरुलाई उपस्थित हुन समेत निर्देशन दिएको छ ।