सडक निर्माण कार्यमा ढिलासुस्ती
कपन अनलाइन, महेन्द्रनगर (धनुषा), १४ मङ्सिर ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरमा निर्माणाधिन ढल तथा सडक निर्माणमा ढिलाइ भएको छ ।
उक्त कार्यमा ढिलासुस्ती हुँदा जनकपुरवासीले चिन्ता व्यक्त गरेका छन् । करिब रु ९९ करोडको आयोजनाले सन् २०१६ फरवरीमा जेडआइसी, शर्मा जेभि कन्ट्रक्सनलाई ३२ किलोमिटर ढल तथा नौ किलो मिटर पक्की सडक निर्माणको ठेक्का दिएको थियो । ठेक्का लागेको नौ महिना वितिसक्दा समेत कामले गति पाउन सकेको छैन ।
कम्पनीले साढे चार किलोमिटर ढलको निर्माण गरेको छ । सन् २०१८ फरवरीसम्ममा काम सम्पन्न गर्ने जिम्मा ठेकेदार कम्पनीले पाएको थियो । जनकपुर उपमहानगरपालिका– ८ का सरोज मिश्र समयमा काम पूरा हुने कुनै छाँटकाँट नदेखेको बताउनुहुन्छ ।
एकीकृत सहरी विकास आयोजना जनकपुरका उपप्रमुख इन्जिनियर वीरेन्द्र यादव फरवरीमा ठेक्का लगाए पनि विभिन्न कारणले वैशाखबाट मात्र काम सुरु भएका कारण ढिलाइ भएको बताउनुहुन्छ । रासस