काँग्रेसका नेता मल्लको सम्झना
कपन अनलाइन, सल्यान, १२ मङ्सिर ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले समाजमा योगदान दिने मान्छेको प्रतिष्ठान खोल्न परिवार नभई समाज लाग्नुपर्ने बताउनुभएको छ ।
सदरमुकाम खलङ्गामा आज आयोजित नेवबहादुर मल्ल स्मृति केन्द्रको उद्घाटन तथा प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष वाग्लेले पार्टी तथा समुदायमा योगदान दिने विशिष्ट व्यक्तिको प्रतिष्ठान खोल्ने कार्यमा परिवार बाहेक बाहिरबाट पनि प्रयास हुनुपर्छ भन्नुभयो ।
नेपाली काँग्रेस र सल्यानी जनताका लागि ठूलो योगदान दिएका मल्लसम्बन्धी प्रतिष्ठान खोल्न प्रयास नभएकामा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो,“जिल्लाको राजनीतिक र शैक्षिक विकासका लागि नेवबहादुर मल्लले ठूलो योगदान दिनुभएको छ, उहाँले यहाँको राजनीति र विकासमा योगदान दिनुभएको छ उहाँलाई नसम्झेर अगाडि बढ्न सकिँदैन । ”
विसं २०१५ मा बिपी कोइरालाको मन्त्रिमण्डलका सहायक वनमन्त्री र नेपाली काँग्रेस सल्यानको संस्थापक मल्लको योगदान कहिल्यै बिर्सन नसकिने पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाहले बताउनुभयो ।
उहाँका छोरा धुव्र मल्लले बुृवाले सदरमुकाम खलङ्गामा त्रिभुवन जन माविमा आफैँले खर्च व्यहोर्ने गरी शिक्षक ल्याएर पठनपाठनको व्यवस्था गर्नुभएको र दाङमा रहेको महेन्द्र संस्कृत विश्वविद्यालयलाई १२ बिघा जग्गा निःशुल्क दान दिर्नभएको जानकारी दिनुभयो ।
विसं २०५२ मा भैरहवाबाट नेपालगन्ज आउँदै गर्दा बाटाबाटै हराउनुृभएका मल्लको परिवारले २०७१ सालमा कुशको शव बनाएर अन्त्येष्टि गरेको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष मुरारी शर्मा, नेपाल लेखक सङ्घका केन्द्रीय सचिव डा कृष्णराज डिसी लगायतले मन्तव्य राख्नुभएको थियो । रासस