कर सङ्कलन अभियान
कपन अनलाइन, कावासोती, ७ मङ्सिर ।
नगरपालिकाभित्र रहेका व्यवसायीलाई करको दायरामा ल्याउन मध्यविन्दु नगरपालिकाले व्यवसायी कर सङ्कलन अभियान सुरु गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माका अनुसार उक्त अभियानमा मदिरा पसल, सुर्तीजन्य पसल, सुन चाँदी पसल, औषधि व्यवसाय, आयुर्वेदिक औषधि पसल, स्टेसनरी, डिपार्टमेन्टल स्टोर, कस्मेटिक पसल र लुब्रिकेसन सेक्सन व्यवसाय गर्ने व्यवसायीलाई कर तोकिएको छ ।
यस्तै प्लाई तथा ग्यास हाउस, कपडा, धागो, इलेक्ट्रोनिक, बिद्युत् सामग्री, हार्डवयेर, पेन्ट, मार्बल, पेट्रोलियम पदार्थ, बिरुवा बिक्री पसल, भाँडा पसल, किचन सामग्री, खेलौना, गिफ्ट, फोटो, सिलाइ मेसिन मर्मत तथा सिलाइ पसल, सङ्गीत तथा कला केन्द्र, घुम्ती हाटबजारमा व्यवसाय गर्ने व्यवसायीसहित साना उद्योग, मझौला उद्योग र ठूला उद्योग वर्गीकरण गरी न्यूनतम रु एक हजारदेखि रु दश हजारसम्म व्यवसायी कर नगरपालिकाले तोकेको छ । चोरमारा बजार, कोल्हुवा बजार र उद्योग क्षेत्रलाई पहिलो चरणको अभियानमा समेटिने नगरपालिकाले जनाएको छ । रासस