कन्चन शर्मा, सामाजिक संजाल र नेपाली पत्रकारिता

कन्चन शर्मा, सामाजिक संजाल र नेपाली पत्रकारिता

कपन अनलाइन, मंसिर ५, २०७३/दृष्टिकोण


-केशव पाठक

गत बिहिबार राति टिभिमा बोल्दै गरेकी महिला धेरैलाई कताकता चिनेझैँ लाग्यो तर सजिलै ठम्याउन सकेनन् होला । कान्तिपुर टेलिभिजनमा सुमन खरेलको कार्यक्रममा विशेष रुपमा बोलाइएको यी महिलालाई अत्यन्त कारुणिकरुपमा प्रस्तुत गरिएको थियो । महिला पिडित समाजको रुपमा हेरिने नेपाली समाजमा यी महिलाले बोकेको कथा सजिलै भेटिने कथा हो । तर यिनिले अरुभन्दा पढे लेखेकी र बोल्ने सक्ने हुनाले यिनको कुराले सबैलाई चासो गरायो । कन्चन शर्मा रेग्मी भनेर परिचय गराइएको यी महिला भन्दै गइन, सुमन खरेलको कार्यक्रम बग्दै गयो ।

socail-network

कार्यक्रम सकियो अनि सामाजिक संजालभरी छाइन् कन्चन शर्मा । त्यसपछिका दुई दिन पुरुष हैकमवादको विरोध गर्दै धेरै स्वनामधन्य पुरुषहरु नै कन्चनका पति र पुत्रहरुहरुलाई गाली गरिरहेको भेटियो । महिलाहरुलाई त झन के चाहियो अब । सामाजिक संजाल कन्चन शर्मा रेग्मीमय भयो । सामाजिक संजालबाट क्षणिकरुपमा देवत्वकरण र दानवीकरण गरिने हाम्रो समाजको पराकाष्ठा स्वरुप फेरि एकपटक छरप्रस्ट भयो । के, किन, कसरीतिर कोही गएन । मात्र यी महिलालाई यस्का पति र पुत्रले दुख दिए, सडकमा छाडिदिए, भोकभोकै बस्न बाध्य बनाए आदिमा हिट भयो सुमन खेरलको कार्यक्रम । २ दिनमा ५ लाख जनाले युट्युवमा यो कार्यक्रम हेरिइसकिएको छ । यो समाजका मै हुँ भन्ने डाक्टर, इन्जिनयिर र कतिपय पत्रकारहरु पनि यो भीडमा उत्रियो, कन्चन शर्माको हिमायती भएर ।

गत तीन सातामा नेपाली समाजमा तीनजना महिला हिट भए, तरकारीवाली, सुजाता कोइराला र कन्चन शर्मा । तिनैजनाले बोकेको पृष्ठभमि, कथा र यसले पार्ने प्रभाव भिन्न भए पनि सारमा यी तिनैजना नेपाली महिला थिए । सम्भवतः सुमन खरेलले पनि यि कन्चन शर्मालाई दुःख पाएकी महिला हुनुको महत्वलाई ध्यान दिएर कार्यक्रममा ल्याए होलान् । अलिकति दिक्षा चापागाइँको प्रभाव परे सुमन खरेल भन्न सकिन्छ । सडकबाट उद्धार गरेर आफूसँग राखेकी दिक्षाले आफू र आफ्नो संस्था हिट बनाउन सम्भवतः यो लिला गर्न प्रेरित गरिन् होला । कुरो जे भए पनि कन्चन शर्मा रेग्मी भनिने यी महिला अहिले तरकारीवाली र सुजाता कोइरालाभन्दा बढी हिट छिन् । दुनियाँको सान्त्वना र सहानुभूति प्राप्त भएको छ उनलाई ।

सामाजिक संजालमा नै केही व्यक्तिहरुले सुमन खरेलले विशेषरुपमा बोलाएको कन्चन शर्माको विषयलाई लिएर अनुसन्धात्मक टिप्पणी गरेका छन् । सुमनको कार्यक्रमको लगत्तै राजिव शर्माले गरेको टिप्पणीपछि धेरैले कन्चन शर्मा आफै समस्या हो भन्ने अनूभूति गरे पनि फेशबुकमा आमा कन्चन शर्मा भनेर यी महिलाको देवत्वकरण भैसकेको थियो । त्यो क्रम जारी छ । ठूला मिडियाले यो विषयलाई त्यति चासो नदेखाए पनि केही सस्तो लोकप्रियता हासिल गर्न चाहने मिडियाले झन् बढि देवत्वकरण गर्ने प्रयास गरिरहेका छन् ।

काठमाडौँको सडकमा धेरै महिला तथा वृद्धहरु दिनहिन बाँचिरहेको सबैले देखेका छन् । ती सबैका कथाव्यथा महत्पपूर्ण खालको । तर यी व्यथाहरु खोतलिनेहरुमध्ये कन्चन नामकी यी महिला नै किन परिन् भन्ने विषयसमेत अहिले महत्वपूर्ण छ । जसको नाम नै कन्चन हैन भन्ने कुरा समेत सार्वजनिक भएको छ भने उनले कार्यक्रममा आफूले लेखेको भनेको गजल प्रशिद्ध गजलकार रवि प्राञ्जलको भएको स्पष्ट भैसकेको छ । सो गजल सागर न्यौपानको संगीतमा सजल न्यौपानेले गायको कुरा सार्वजनिक भैसकेको छ । सुमन खरेलजस्ता पाका पत्रकारले कन्चन शर्मालाई नै किन ल्याए भन्ने कुरा आफैमा गजब मान्नेहरु बढ्न थालेका छन् यतिखेर ।

यी महिला रक्सि तथा दुव्र्यसनीको ठूलो शिकार भएका कारण रेग्मी परिवारले ठूलो दुख पाएको खबर बिस्तारै आउन थालेपछि सुमन आफै समस्यामा घेरिएका छन् । उनले खोज अनुसन्धान नगरी पवित्र सेवा समाज दिक्षा चापागाइँको भरमा सतही ढंगले कार्यक्रम प्रस्तुत गरेको अनुभूति समेत गरिसकेका छन् । घरपरिवारको वास्ता नगरी जाँड खाएर हिँडेकी यी महिला ज्ञानेश्वरदेखि ठमेलसम्मको एरियामा असरल्ल परेर हिँडेको सबैले देखेको हो । हामीमध्ये धेरैले उनलाई बाटोमा देखेको हुनुपर्छ । यिनको आचरणले आजित भएर पति मोहन रेग्मीले आत्महत्याको प्रयास गरेको कुरा समेत यिनको कारुणिकताका पछाडि आउँछन् । पति मोहनसँग यी महिलाको ०६८ सालमा पारपाचुकेसमेत भएको कुरा सार्वजनिक भएपछि पत्रकार सुमन खरेलले गरेको महत्वपूर्ण कुराकानी सतही बनेको छ ।

कन्चन शर्मालाई पछिल्लो समयकी विग्रँदो महिला आचरणको प्रतिनिधित्व गर्ने महिलाको रुपमा पनि लिन सकिने अवस्था देखिन्छ यद्यपि अझै केही समय कुर्न आवश्यक छ कि रेग्मी परिवारका सन्तानचाहिँ यो विषयमा के भन्छन् भन्ने कुरा महत्वपूर्ण छ । पति मोहनले कतिपय कुरा झुटो बोल्लान् भने पनि यी महिलाका दुई छोराले त पक्कै आफ्नै आमाका बारेमा झुटो बोल्ने छैनन् भन्ने अनुमान गरिएको छ । नेपाली समाजमा आफू बिक्नका लागि जुन सुकै हतकण्डा अपनाउन थालिएको छ । कन्चन शर्मा भनिने यी महिला पिडित हुने कि पिडक यो समयले बताउला तर कन्चनको नाममा पत्रकारिता र समाजिक संजालको प्रयोग सारै दुखद भने रह्यो ।

(लेखक कपन अनलाइनका प्रधानसम्पादक हुन्)

तपाइँको प्रतिक्रिया ।