समृद्धिको बाटो शिक्षाले पहिल्याउने ः मन्त्री पौडेल
कपन अनलाइन, काठमाडौँ, १ मङ्सिर ।
शिक्षामन्त्री धनीराम पौडेलले नेपाललाई समृद्ध बनाउने बाटो शिक्षाले मात्र पहिल्याउने बताउनुभएको छ ।
नेपालमा विश्वस्तरको कक्षा सञ्चालन हुने विश्वविद्यालयसम्बन्धी तीनदिने कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले समृद्ध नेपालको परिकल्पना शिक्षाले मात्र साकार हुने बताउनुभयो ।
देशमा गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रदान गर्न ‘राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान’ आवश्यक रहेको र यस्तो प्रतिष्ठान चाँडै स्थापना गर्न मन्त्रालय जुटिरहेको उहाँले जानकारी गराउनुभयो ।
कार्यशालामा प्रा राजेन्द्रध्वज जोशीले ‘समृद्धिका लागि प्रतिष्ठानको भूमिका’बारे कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विश्वस्तरको विश्वविद्यालय आवश्यक रहेको औँल्याउनुभयो । उहाँले विश्वस्तरको विश्वविद्यालय प्रतिष्ठानले गुणस्तरीय शिक्षा, नयाँ वस्तु उत्पादन र सेवा प्रदान गर्न सक्ने दाबी गर्नुभयो ।
कार्यशालामा सिङ्गापुर, भारत, दक्षिण कोरिया र मलेसियाबाट सहभागी हुन आउनुभएका प्राध्यापकहरुले नेपालमा विश्वस्तरको विश्वविद्यालय आवश्यक रहेको बताउँदै त्यस अभियानमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुने गरी विश्वविद्यालय प्रतिष्ठान स्थापना गर्ने सिलसिलामा पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनबारे सुझाव सङ्कलन गर्न कार्यशालाको आयोजना गरिएको हो । प्रतिष्ठान खोल्न मन्त्रालयले मकवानपुरको चित्लाङमा करिब दुई सय रोपनी जग्गा प्राप्त गरिसकेको छ । रासस