‘चैतमा स्थानीय तहको निर्वाचन’
कपन अनलाइन,गोरखा, २८ कात्तिक ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुनसंरचनाको काम सकेपछि आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने गरी मन्त्रालयले तीव्ररुपमा गृहकार्य गरिरहेको बताउनुभएको छ ।
हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले ५६ जिल्लाबाट स्थानीय तह कतिवटा बनाउने भन्नेबारे सुझावसहितको प्रतिवेदन प्राप्त भइसकेको बताउनुभयो । “पुनसंरचनाको काम टुङ्ग्याएपछि चैतमा स्थानीय तहको निर्वाचन हुन्छ,” उहाँले भन्नुभयो– “पुनसंरचनाको काम छिटो सक्न मन्त्रिपरिषद्को बैठकले आयोगलाई निर्देशन दिइसकेको छ ।”
चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाका नाका खोल्ने तयारीमा सरकार लागेको उहाँको भनाइ छ । भूकम्पपीडित जनताका लागि घर निर्माणलगायत सामग्री ढुवानीमा पनि सरकारले सहयोग गर्ने मन्त्री पाण्डेले बताउनुभयो । विकासका योजनामा विनियोजित बजेट एक चौमासिक सकिनलाग्दा पनि खर्च नभएको भन्दै उहाँले विकासे अड्डाले कार्ययोजना बनाएर बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभयो । रासस