शेषनारायण मन्दिरमा दर्शनार्थीको भीड
कपन अनलाइन, काठमाडौँ, २६ कात्तिक ।
काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा आज दर्शनार्थीको भीड लागेको छ ।
प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस वर्ष बिहीबार र शुक्रबार एकादशी परेको भएपनि सो मन्दिरमा एकादशी मेला भने आज लागेको हो । विशेषगरी काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न आउने गरेका छन् ।
काठमाडौँबाट करिब १६ किलोमिटरको दूरीमा रहेको सो मन्दिरमा आजको दिन उक्त मन्दिरमा मेला भरेर नारायणको पूजा गरेमा साक्षात नारायण प्रसन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलीप शर्माले जानकारी दिनुभयो । बिहानैदेखि भीड लागेको मन्दिर सर्वसाधारणको दर्शनका लागि साँझसम्म खुल्ने आयोजकले जनाएका छन् ।
सोही मन्दिरमा हरिसयनी एकादशीमा समेत नारायणको विशेष पूजा गरी सर्वसाधारण भक्तजनका लागि दर्शनको व्यवस्था गरिन्छ । यसैगरी, हिन्दू धर्मावलम्बीले हरिसयनी एकादशीका दिन रोपेको तुलसीको पूजा आज गर्ने चलन छ । रासस